वीरगन्जको भवानीपुरमा गोली चल्यो, दुई पक्राउ



वीरगञ्ज : वीरगन्ज महानगरपालिका १८ भवानीपुर टोलमा गोली चलेको छ । पर्खालको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो । बृजेश कुमार पटेल र मोहन साहबीच पर्खालको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । 

दुई पक्षबीच विवादले उग्ररुप लिएपछि साहका छोरा कुन्दन साहले घरमा राखिएको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जनाएका छन् ।

प्रहरीले गोली चलाउने कुन्दन र उनका बुवा मोहन साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । 

गोली चलेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले घटना स्थल पुगेका थिए । गोली चलेको भएपनि मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने कुन्दनको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले १२ बोरको एउटा बन्दुक र बन्दुकमा लाग्ने चार राउण्ड लाईभ कार्टिज बरामद गरेको छ ।

टयाक्टर राख्दै आएको आफ्नै जग्गामा पटेलले टहरा बनाउँदा सडक मिचेको विषयलाई लिएर पटेल र साहबीच विवाद सुरु भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्