बिहीबारदेखि सुदूरपश्चिमका बालबालिकालाई कोरोनाविरुद्धको खोप



कैलाली । सरकारले यही असार ९ गतेदेखि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन तयारी गरेको छ । जसअनुसार सुदूरपश्चिमका ३ जिल्लाका ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप लगाइने उक्त ‘फाइजर बायोएनटेक’ खोप सुरक्षित र प्रभावकारी भएको बताइएको छ । आइतबार धनगढीमा आयोजना भएको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धी पत्रकार अन्तरक्रियामा सो कुरा जानकारी दिइएको हो ।

उक्त अन्तरक्रियामा प्रस्तूतिकरण गर्दै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताए । उनले यो खोप सुरक्षित भएकाले सबै बालकालिकालाई खोप अभियानमा सहभागी गराउन आग्रह गरेका छन । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । खोप लगाएमा बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्