बजेट आयो तर छापिएन



  • जयन्त ठाकुर

जनकपुरधाम । मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेको ५ दिन पुगे पनि बजेट पुस्तिका (रातो किताब) प्रकाशन गर्न सकेको छैन। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएकाले सदन सञ्चालन हुन नसकेको बताएका छन् ।

उनले मन्त्रालयले योजना पुस्तिका उपलब्ध गराएपछि छलफल सुरु हुने जानकारी दिए। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सचेतक परमेश्वर साहले सरकारले रातो किताब उपलब्ध गराउन एक साताको समय माग गरेको बताए। उनले सांसदहरूले बजेट पुस्तिका प्राप्त गरेपछि मात्र बजेटमाथि दफावार छलफल सुरु हुने जानकारी दिए। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ अर्थात् ४६ दशमलब ४४ प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए। यसैगरी पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३ दशमलब २१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २०० रुपैयाँ अर्थात् ० दशमलब ३५ प्रतिशत विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ, कोषहरूमा रहेको सञ्चित रकम ३८ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ रहेको मन्त्री साहले बताए।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ७८ करोड रुपैयाँ, सङ्घीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख रुपैयाँ र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार रुपैयाँ गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार रुपैयाँ बेहोर्दा १ अर्ब ८२ करोड १० लाख १८ हजार २०० रुपैयाँ न्यून हुने देखिन्छ। सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्