गुणस्तरहीन जारको पानी बेच्ने दुईजना पक्राउ, १९७ जार बरामद



काठमाडौं । गुणस्तरहीन जारको पानी बेचेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । विभिन्न जार कम्पनीको ट्रेडमार्क प्रयोग गरेर पानी बेच्ने दुईजना १९७ जारसहित पक्राउ परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ छन् । एसपी मैनालीले १९७ जार बरामद गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको बताए । यस्तै अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको एसपी मैनालीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्