पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरियो : ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताएका छन । अर्थ मन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि त्यसलाई लत्याउँदै मूल्यवृद्धि गर्नुले संसद्को समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो ।

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताएका छन।

उनले भने, ‘अर्थ मन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा मौखिक रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसद्को स्पष्ट निर्देशन र सदन समक्ष अर्थ मन्त्रीले बजेट वक्तव्य पेस गर्दा बोलेको कुरालाई समेत लत्याउँदै मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भीरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भए पनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिन्छ । यो काम नगरिकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्