मङ्की पक्सबाट सावधान र सुरक्षित रहने उपाय



  • डा. केदार कार्की

काठमाडौं । यसै त विगत ४ वर्षदेखि कोभिड-१९ का पटकपटक देखापरेका लहरहरूको कहरबाट सकुशल बाहिर निस्कन नपाइरहेको विश्व समुदाय यसै कालखण्डमा मङ्की पक्सको कहरमा परेको छ । भर्खरै चर्चामा आएको मङ्की पक्स फेरि विश्व समुदाय एवं महामारी विज्ञ, सार्वजनिक जनस्वास्थ्य विज्ञका साथै सार्वजनिक जनस्वास्थ्य सेवा प्रवाह गर्ने निकायहरूका लागि टाउको दुखाइको विषय बन्छ जस्तो छ ।

१३ मे २०२२ मा विश्व स्वास्थ्य सङ्गठनलाई संयुक्त अधिराज्य बेलायतमा एकाघरका २ जना प्रयोगशालामा पुष्टि भएका बिरामी तथा मङ्की पक्सका सम्भावित बिरामीबारे सूचना गरियो १५ मेमा यौन स्वास्थ्य सेवामा उपस्थित मानिसहरूमध्ये ४ थप प्रयोगशालामा पुष्टि भएका बिरामी देखापरे, जसमा बेसिकुल र रेस रोग तथा समलैङ्गिक एवं पुरुषसँग यौन सम्बन्ध राख्ने अन्य पुरुष छन् ।

मङ्की पक्स एउटा भाइरल जनोसिस हो, जसमा बिफरका रोगीहरूमा अतीतमा देखिएका लक्षणहरू जस्तै लक्षण हुन्छन्, यद्यपि, यो चिकित्सकीय रूपमा कम गम्भीर हुन्छ । सन् १९८० मा बिफर उन्मुलपछि बिफरको खोप लगाउन बन्द गरिए पछि यो सबैभन्दा महत्वपुर्ण आर्थाेपक्स भाइरसका रूपमा देखापरेको छ । मानिसमा मङ्की पक्सको पहिचान पहिलो पटक सन् १९७० मा लोकतान्त्रिक गणराज्य कङ्गोमा एउटा ९ वर्षे बालकमा देखिएको थियो, जहाँ सन् १९६८ मा बिफर उन्मूलन गरिएको थियो ।

त्यतिबेलादेखि नै धेरैजसो बिरामीहरू कङ्गोका ग्रामीण वन क्षेत्रमा पाइएका थिए । सन् १९७० पछि अफ्रिकी देशहरू क्यामरुन, मध्य अफ्रिकी गणराज्य कङ्गो, आइभरी कोस्ट, लाइबेरिया, नाइजेरिया, सियारा लिओन एवं सुडानमा मङ्की पक्सका बिरामीहरू देखापरे । नाइजेरियाले सन् २०१७ मा सबैभन्दा ठूलो प्रकोपको सामना ग¥यो । सन् १९९६-९७ मा कङ्गोमा मङ्की पक्सको प्रकोपको शङ्का गरियो, यद्यपि, मृत्यु सङ्ख्या कम थियो । तर, यसको सङ्क्रमण बढी थियो । केही रोगीको नमुनामा बेरिसेला भाइरस पोजिटिभ थियो भने कुनैमा बेरिसेला एवं मङ्की पक्स दुवै थिए ।

मङ्की पक्स सन् २०१८ मा इजराइल र २०१९ मा बेलायत तथा सिंगापुरमा नाइजेरियाका यात्रुहरूले लगेका थिए ।मङ्की पक्सको सञ्चारण कसरी हुन्छ ? मङ्की पक्सका बिरामीहरूको सङ्क्रमण रगत, शारीरिक तरल पदार्थ वा सङ्क्रमित जनावरहरूका घाउहरूको प्रत्यक्ष सम्पर्कको परिणाम स्वरूप हुन्छ । अफ्रिकामा डोरी लोखर्के, रूख लोखर्के, गोम्बियन सिकारी मुसा, अफ्रिका एवं युरेसियामा पाइने मुसा, बाँदरहरूका विभिन्न प्रजातिहरूसहित धेरै जनावरहरूमा यस भाइरसको सङ्क्रमण पाइएको छ ।

मङ्की पक्सको प्राकृतिक स्रोतको अहिलेसम्म पहिचान भएको छैन, यद्यपि, मासु एव सङ्क्रमित जनावरहरूको अन्य पशुजन्य उत्पादनहरूको सेवन एउटा सम्भावित जोखिमको कारक मानिन्छ ।

मङ्की पक्सका लक्षण

मङ्की पक्सको अवधि सामान्यतया ६ देखि १३ दिनको हुन्छ । तर, यस पटकको मङ्की पक्सको अवधि ५ देखि २१ दिनसम्म भएको देखिएको छ । मङ्की पक्सको सङ्क्रमणलाई २ अवधिमा बाँडिएको छ । आक्रमण अवधि ०-५ दिनसम्म रहन्छ । यसमा ज्वरो आउने, कडा टाउको दुख्ने, ढाड दुख्ने, मांसपेशीहरू दुख्ने तथा जीउ शिथिल हुने गर्छ ।

छाला फाट्ने सामान्यतया ज्वरो देखिएको १–३ दिनभित्र सुरु हुन्छ । फोकाहरू जीउको साटो अनुहार तथा हात-खुट्टामा बढी केन्द्रित हुन्छन् । यसले ९५ प्रतिशत बिरामीको अनुहारमा तथा हातको पन्जा एवं खुट्टा र पैतालामा ७५ प्रतिशत बिरामीलाई प्रभावित गर्छ ।

मुखको २ लेपमा झिल्लीमा ७० प्रतिशत र जननाङ्गमा ३० प्रतिशत एवं कोर्नियामा २० प्रतिशत प्रभावित गर्छ । फोकाहरूमा तरल पदार्थले भरिएको घाउ तथा पाप्रा, जो सुकेर खस्छन्, क्रमिक रूपमा विकसित हुन्छन् । फोका र घाउको सङ्ख्या केहीदेखि सयौँसम्म हुन सक्छन् । गम्भीर अवस्थाका बिरामीहरूमा त्यतिबेलासम्म यो सङ्क्रमण बढ्न सक्छ, जबसम्म छालाको ठूलो भाग खुकुलो होस् । मङ्की पक्स साधारणतया २ देखि ४ सातासम्म देखिने लक्षणहरूका साथ देखिने रोग हो । सामान्यतया गम्भीर खाले रोग बालबालिकाहरूमा बढी हुन्छ ।

मङ्की पक्सका रोगीको मृत्यु अनुपात ० देखि ११ प्रतिशत छ । यसको बढी असर बालबालिकाहरूमा देखिएको छ ।

मङ्की पक्सको निदान

यदि मङ्की पक्सको शङ्का छ भने स्वास्थ्यकर्मीहरूले एउटा उपयुक्त नमुना एकत्र गर्नुपर्छ एवं त्यसलाई उचित क्षमता भएको प्रयोगशालामा सुरक्षित तरिकाले लैजानुपर्छ । मङ्की पक्सको नमुनाको प्रकार, गुणस्तर एवं प्रयोगशाला परीक्षणको प्रकारमा यसको निदान निर्भर गर्छ । यस प्रकार नमुनाहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । परीक्षणका परिणामहरूको व्याख्या गर्न निम्न जानकारी नमुनासँगै संलग्न हुनुपर्छ ।

(क) ज्वरो सुरु भएको मिति (ख) फोका देखा पर्न सुरु गरेको मिति (ग) नमुना सङ्कलन मिति (घ) बिरामीको वर्तमान स्थिति (ङ) फोकाको अवस्था (च) व्यक्तिको उमेर र लिङ्ग आदि । घाउका नमुनाहरू एउटा सुख्खा निर्मलीकृत ट्युब वा कुनै भाइरल ट्रान्सपोर्ट मिडिया नभएको चिजमा सङ्कलन गरिनुपर्छ एवं चिसो राख्नुपर्छ ।

मङ्की पक्सको प्रकोपको रोकथामका लागि निगरानी एवं नयाँ बिरामीहरूको द्रुत पहिचान महत्वपुर्ण हुन्छ । मङ्की पक्सका रोगीहरूका साथ निकट सम्पर्कमा रहनुहुँदैन । मङ्की पक्स भाइरस तीब्र सङ्क्रमण हुने भाइरस भएकाले जोखिमपूर्ण मानिन्छ।
स्वास्थ्यकर्मीहरू एवं परिवारका सदस्यहरूलाई यसको सङ्क्रमणको जोखिम बढी हुन्छ । मङ्की पक्स भाइरस सङ्क्रमण भएका रोगीहरूकोे हेरचाह गर्ने वा तिनको नमुना लिने स्वास्थ्यकर्मीहरूले सङ्क्रम नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुन्छ ।

सम्भव भएसम्म रोगीलाई हेरचाह गर्न यस्तो मानिस राख्ने, जसले पहिले बिफरको खोप लगाएको होस् । मङ्की पक्स सङ्क्रमण भएका संदिग्ध मानिसहरू एवं जनावरहरूबाट लिइएका नमुनाहरूलाई उपयुक्त रूपबाट प्रयोगशालाहरूमा काम गर्ने प्रशिक्षित कर्मचारीहरूबाट सङ्कलन एवं नियन्त्रित गरिनुपर्छ । सङ्क्रमण हुन सक्ने पदार्थहरू, परिवहनका लागि विश्व स्वास्थ्य सङ्गठनको मागदर्शनअनुसार रोगीका नमुनाहरू ट्रिपल प्याकेजिङका साथ सुरक्षित रूपले तयार गर्नुपर्छ ।

मङ्की पक्सको उपचार एवं खोप

मङ्की पक्सका लागि वर्तमानमा कुनै विशिष्ट उपचार विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छैन । केही अध्ययनले मङ्की पक्स रोक्न बिफरको खोपले ८५ प्रतिशत प्रभावी हुने देखाएका छन् । सन् २०१९ मा बिफर एवं मङ्की पक्सको रोकथामका लागि एउटा नयाँ बैकसिनियामा आधारित खोपलाई स्वीकृति दिइए पनि यो अझै सार्वजनिक क्षेत्रमा व्यापक रूपले उपलब्ध भने छैन।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भाइरसका जोखिमका कारकहरूबारेमा जागरुकता बढाउने एवं ती उपायहरूका बारेमा शिक्षित र सुसूचित गर्नाले भाइरसको जोखिम कम गर्न सकिन्छ । बन्दी जनावरहरू, जो सम्भावित रूपले मङ्की पक्सबाट सङ्क्रमित छन्, ती जनावरहरूलाई अन्य जनावरहरूबाट बेग्लै छुट्याएर राख्नु तथा तत्काल कवारेन्टाइनमा राख्नुपर्छ ।

कुनै पनि जनावर, जुन सङ्क्रमित जनावरसँग सम्पर्कमा आएका छन्, तिनलाई कवारेन्टाइनमा राख्नुपर्छ तथा स्वीकृत मापदण्ड र सावधानीहरूका साथ तिनलाई हेरविचार गर्नुपर्छ । ३० दिनका लागि मङ्की पक्सका लक्षणहरूको निगरानी गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्