आफ्नो भू-भाग चाहियो भन्नु कुनै देशसँगसम्बन्ध बिगार्नु होइन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू-भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू-भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका हुन् ।

मंगलवार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक-पटक राखेको पनि स्मरण गराउएका छन ।

उनले भने, ‘छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनुपर्दछ । मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे । २१ औँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्नाा सत्ता स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदाबाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । खुलस्त पनि हुनुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भू–भाग हो । त्यसपछि एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बस्यो र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ । यो हाम्रो भू-भाग हो । यसमा हामीले अर्घेल्याइँ गर्‍यौँ कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन ।’

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटक–पटक दोहोर्‍याएका छन।

प्रतिक्रिया दिनुहोस्