पशुमा खोरेत रोगको प्रकोप



पाल्पा: निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ । गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो ।

मित्यालको धिर्जे, दुमिदमार, खानीदमार र ज्यामिरेका मदनपुर, मोटेखर्क क्षेत्रका पशुमा महामारीको रूपमा खोरेत रोगको संक्रमण फैलिएको छ । यहाँका करीब १५० गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुमा खोरेत रोगले सताएको निस्दी गाउँपालिकाका पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताउछन् ।

 

संक्रमित क्षेत्रमा पशु शाखा कार्यालयका कर्मचारी, स्वयंसेवक, एक गाउँ एक प्राविधिकअन्तर्गतका प्राविधिक कर्मचारी गरी सात जनाको टोली निरन्तर खटिएर उपचारमा लागेको मश्राङ्गीले बताए । १५० संक्रमित पशुमा उपचार र दुई हजार २०० पशुमा खोरेतविरुद्धको भ्याक्सिन लगाउने काम भइरहेको छ । “बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर सात जनाले काम गरिरहेका छौँ, भ्याक्सिन लगाउने काम नसकिएकाले अझै दुई दिन लाग्नेछ” मश्रङ्गीले भने । उपचार शुरु गरेपछि संक्रमित पशुले घाँसपात खान थालेको पशु शाखा प्रमुख मश्राङ्गी बताए ।

 

यहाँ पालिएका पशुमध्ये विशेषगरी गाई, भँैसी र बाख्रामा संक्रमण बढी देखापरेको छ । खोरेत नलागेका पशुमा खोरेतविरुद्धको भ्याक्सिनका लागि निस्दी गाउँपालिकाले सशर्त अनुदानअन्तर्गत रु ४८ हजार रकम सहयोग गरेको छ भने संक्रमित पशुमा उपचारका लागि अत्यन्तै कम शुल्कमा उपचार भइरहेको छ ।

 

गोठमा पालिएका ११ वटै गाईमा खोरेत रोगको संक्रमणले सताएको मित्याल धिर्जेका कृषक हस्तबहादुर गाहा गुनासो गर्नुहुन्छ । सोही ठाउँकै कृषक अम्म फालका ५६ बाख्रामध्ये चारमा संक्रमण देखिएपछि उपचार गरिएको बताउनुभयो । अरु बाख्रालाई संक्रमणबाट बचाउन खोरेतविरुद्धको भ्याक्सिन लगाइएको छ ।

 

खोरेत रोग लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङ्गको हुने, मुखभित्र जिब्रो, गिँजा र खुट्टाको दुई खुरको बीचमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री फरेनहइट ज्वरो आउने, दानापानी नखाने, दुहुना पशुले दूध उत्पादन घटाउने गर्दछ । थुन र फाँचोमा पनि घाउ आउन सक्ने र थुनेलो समेत गराउने, कतिपय ब्याउने पशु तुहिन्छ र बाँझोपनका लक्षणहरु देखापर्ने पशुस्वास्थ्य प्राविधिक बताउँछन् ।

 

कात्तिकको दोस्रो साताबाट यस क्षेत्रमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्