कर्णाली र सुदूरपश्चिममा अझै पुगेन मनसुन



काठमाडौं । विगतका वर्षहरूभन्दा एक साता अगावै भित्रिएको मनसुन अझै देशभर फैलिएको छैन । मनसुन भित्रिएको २ साता नाघ्दै गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव कायम रहँदा लुम्बिनी प्रदेशको पश्चिमी भेगदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन कमजोर बनेको हो ।

यी भेगमा यो साता मनसुन फैलिने मौसमी प्रणाली नदेखिएको बताउँदै जलवायुविद् डा. धर्म उप्रेतीले भने, ‘पश्चिमी वायुको असरले मौसम बदलिएर छिटपुट वर्षा भए पनि अझै ३-४ दिन मनसुन सक्रिय हुने सम्भावना छैन ।’यस पटक भारतको केरलामा सरदर मितिभन्दा ३ दिन अगावै सक्रिय भएको मनसुन गत २२ जेठमा पूर्वी नेपाल प्रवेश गरेको थियो । गत वर्ष २८ जेठमा मनसुन भित्रिएको थियो । विगतका वर्षहरूभन्दा साता अगावै मनसुन भित्रिएपछि जल तथा मौसम विज्ञान विभागले १० दिनभित्रैमा देशभर फैलिने प्रक्षेपण गरेको थियो ।

प्रदेश १, मधेश प्रदेश र बाग्मतीमा सक्रिय रहेको मनसुनको गण्डकी र लुम्बिनी प्रदेशको दाङ र आसपासका भेगमा आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । पश्चिमी मौसमी प्रणाली सशक्त नभए पनि पश्चिमबाट बहने वायु सक्रिय हुँदा पश्चिमतर्फका भेगमा मनसुन फैलन नसकेको उनले जानकारी दिइन् ।

‘यस पटक मनसुन छिट्टै भित्रिएपछि असार पहिलो साताभित्रै देशैभर वर्षा हुने हाम्रो विश्लेषण थियो’, नगरकोटीले भनिन्, ‘हिजोआज पश्चिमतर्फको वायुमण्डलको तल्लो सतहदेखि उपल्लो सतहसम्म पश्चिमी वायु सक्रिय भएकाले मनसुन फैलिन सकेको छैन ।’ यो साताभर यस्तो प्रभाव कायम रहने उनले बताइन् । मनसुन नफैलिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै भेगमा आंशिक बदली र छिटपुट वर्षाका गतिविधि भने दोहोरिने विभागको ठहर छ । अंग्रेजी महिनाको १३ जुन (३०–३१ जेठ) हाराहारीमा भित्रिने मनसुन पूर्वी नेपालमा १५ जुन अगावै फैलिने गर्छ ।

औसतमा १३ देखि १६ जुनमा मधेश प्रदेश, यही आसपासमा बाग्मती र गण्डकी प्रदेशमा, १५ तारिखपछि लुम्बिनी र कर्णालीमा मनसुनी असर देखिने विभागको विश्लेषण छ । विगतका वर्षहरूमा २० जुन हाराहारीमा सुदूरपश्चिम प्रदेशमा मनसुन फैलिने गरेको थियो । बाह्रै महिना सक्रिय रहने पश्चिमी वायु मनसुन भित्रिएपछि कमजोर बन्ने गर्छ । भू-मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, उत्तर–पश्चिम भारत हुँदै सुदूरपश्चिमी भेगबाट पश्चिमी वायु भित्रिने गर्छ ।

हिजोआज भारतको मध्य प्रदेशको पश्चिमी भेग, राजस्थान र उत्तर प्रदेशमा मनसुन कमजोर हुँदा त्यसको असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको विज्ञहरूको विश्लेषण छ । अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । १३ जुन (३०-३१ जेठ)देखि २ अक्टोबर (१५-१६ असोज)लाई विभागले नेपालको मनसुन क्यालेन्डर तय गरेको छ । केही दिनयता प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षा दोहोरिइरहेको छ ।

यस पटक मनसुन अवधिमा बाग्मती प्रदेशको दक्षिण भेग र मधेस प्रदेशमा औसत र अन्यत्र अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । नेपालसहित दक्षिण एसियामा औसतभन्दा बढी वर्षा हुने विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)लगायतका निकायको ठहर छ ।

गत साता भारतको असाम, मेघालय र आसपासका भेगमा २७ वर्षयताकै ठूलो वर्षा भएको भारतीय मौसम विभागले जनाएको छ । गत बिहीबार र शुक्रबार २४ घन्टाको अवधिमा यी क्षेत्रमा ९७२ मिलिलिटर वर्षा भएकाले मौसमविद्हरूले ‘अतिभारी वर्षा’ मानेका छन् ।

गत वर्ष मनसुन बिदा हुने समयमा सुदूरपश्चिमका धेरै भेगमा निरन्तर भारी वर्षा भएकाले यस पटक पनि यस्ता गतिविधि दोहोरिन सक्ने जलवायुविद् डा. उप्रेतीको ठहर छ । ‘डब्ल्यूएमओ र अन्य सरोकारवाला निकायले यस्तै विश्लेषण गरेका छन् । छिमेकी देशहरूमा अति गर्मीको र वर्षा पनि अत्यधिक हुन थालेपछि त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर नेपालमा देखिन थालेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्