लमजुङमा अघोषित लोडसेडिङ, उपभोक्ताहरू मारमा



लमजुङ । छिनछिनमा विद्युतको लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिनासूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो ।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत आपूर्ति अनियमित भएको छ । विद्युत सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ ।

उद्योगको उत्पादनमा पनि कमि आएको छ । विद्युत् कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् ।

बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ । ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको लमजुुङ उद्योग वाणिज्य सघंका कोषाध्यक्ष शिव सिलवाल बताउँछन् ।

यसअघि सामुदायिक उपभोक्ता संघले विद्युत् सेवा दिँदै आएकोमा हाल नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ । विद्युत् संरचना जर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ ।

लमजुङमा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४।४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन् । जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई तनहुँको लाइनबाट विद्युत् सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्