संस्कृत विश्वविद्यालय लाग्दै आएको तालाबन्दी तत्काल खोल्न अनेरास्ववियुको माग



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयसहित आङ्गिक क्याम्पसहरुमा लाग्दै आएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्तारुढ दल निकट विद्यार्थी संगठन र प्राध्यापकहरुको प्रत्यक्ष सङ्लग्नता र भित्रि योजनामा महिनौँदेखि त्यस्तो भइरहेको भन्दै युनियनकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरेकी हुन् ।

‘नैतिक मूल्य र मान्यताको धरातल शून्य बनाएर नेपाल संस्कृत विश्वविद्यालयमा विधि, प्रक्रिया तथा शैक्षिक योग्यता पुगेकाहरुलाई विश्वविद्यालय सेवामा प्रवेश गराउन सेवा आयोगले प्रकाशित गरेको विज्ञापन समेत रोक्न भन्दै नेविसंघले गरेको माग, ढोका हुँदाहुँदै झ्यालबाट छिर्ने कमजोर मानसिकता, विधि र प्रक्रिया छलेर सधैँभरी राज्य सत्ताको दुरुप्रयोग गर्दै प्रतिस्पर्धा मार्फत् श्रेष्ठता हासिल गर्नु पर्ने सिद्धान्तलाई समेत गिजाईरहेको छ । यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र आफु अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयलको बागडोर जिम्मा लगाउने निकृष्ट कर्ममा नेवि संघ उद्धत देखिन्छ । विश्वविद्यालय तालाबन्दी हुँदा पनि आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले सरकार विश्वविद्यालयलाई बन्धक बनाउन आफै क्रियाशील रहेको पुष्टि हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

युनियनले सम्बन्धित पक्षलाई नैतिकताका आधारमा अविलम्ब ताला खोली विश्वविद्यालयको दैनिक कामकाजलाई सहज सञ्चालनमा अवरोध नगर्न अपिल गरेको छ । साथै, अबको ५ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘हामी सम्बन्धित पक्षलाई नैतिकताका आधारमा अविलम्ब ताला खोली विश्वविद्यालयको दैनिक कामकाजलाई सहज सञ्चालनमा अवरोध नपुर्‍याउन हार्दिक अपिल गर्दछौँ । यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन् र विद्यार्थीहरु चिन्तित छन् । देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ५ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्नेछ । त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौँ । उत्पन्न परिस्थितिको सम्पुर्ण जिम्मेवार स्वयम् सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहान्छौँ । सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्