वालविवाह मुक्त गर्ने अभियानमा जुम्लाको चन्दननाथ



जुम्ला । जुम्लाको एकमात्रै नगरपालिका चन्दननाथले वालविवाह मुक्त गर्ने अभियान थाल्दै छ । नगरपालिकाले २०८४ सालसम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनीतिक योजना मस्यौदासहित विभिन्न कामहरु अगाडि सारिएका थियो ।

पछिल्लो समयमा बालविवाहका कारण सम्बन्ध बिच्छेद र महिला हिंसाका घटना बढ्न थालेको अवस्थामा यस चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखा अहिले वालविवाह मुक्त गर्ने रणनीति योजनामा लागेको हो ।

महिला तथा वालवालिका शाखाका बालकल्याण अधिकारी पुष्पा थापाका अनुसार वाल विवाहलाई मुक्त गर्ने दिर्घकालीन रणनीतिक योजनाको मस्यौदा तयार गरि छलफल अगाडि बढाइएको बताइन् । उनले चन्दननाथ नगरपालिकाले वालविवाह अन्त्यका लागि तयार पारेको रणनीतिक योजनामाथि सरोकारवालाबीच छलफल थालिएको छ ।

नगरपालिकाले वालविवाह अन्त्यका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्न, बालबालिका किशोर किशोरी, अभिभावक, यूवा, सामुदायिक अगुवा, संघ संगठनको क्षमता अभिबृद्धि गरि परिचालन, सवै खाले हिंसा अन्त्य तथा वालवालिका संरक्षित गर्ने सहित वालवालिकाको हितमा काम गर्ने योजना सहितको रणनितिक योजनाको मस्यौदा तयार गरेको छ ।

मस्यौदामा छलफल गर्दै चन्दननाथ नगरपालिकाका जनप्रतिनिधिहरुले रणनिति योजना सहित कार्ययोजना चाडो बनाउनुपर्नेमा जोड दिएका छन् ।त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तथा सामाजिक समितिका संयोजक रुपबहादुर रोकायाले कुरुति अन्त्य गर्न वडास्तरबाटै वालक्लव देखी सरोकारवाला निकायहरुको सक्रियता आवश्यक रहेकोमा बताए । उनले वालविवाह अन्त्यका लागि घोषणाको पूर्वाधार तयार गरी चाडै घोषणा गर्ने बताए ।

त्यस्तै वडानम्बर १०अध्यक्ष नवराज शाहीले वालविवाहका कारण वहुविवाहको समस्या ल्याएकाले बताए । उनले बालविवाहका कारण धेरै महिला हिंसा बढेको छ । यसको चाडैे अन्त्य गर्न सवै लाग्नुपर्ने आबश्यक छ ।त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले वालविवाह न्यूनिकरण गर्न आयोगले खेल्ने भूमिका खेल्ने प्रतिवद्धता गरे ।

त्यस्तै अधिवक्ता अनिता तिमिल्सेनाले नेपालको कानूनले कुनै पनि हालतमा वालविवाह गर्नु नहुने प्रावधान भएकाले स्थानीय सरकार सहित सरोकारवाला निकायहरुले यसमा जोड दिनुपर्ने बताइन । जुम्लामा वालविवाह भयभह रुपमा भएपनि यसको आधिकारिक तथ्यांक नभएकाले तथ्यांक संकलन गरिनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन ।

हाल सम्म कुनै पनि स्थानीय तहले वालविवाहको आधिकारिक तथ्यांक संकलन गर्न सकेका छैनन् । प्रहरीमा वा न्यायीक समितिमा पनि खासै वालविवाहका घटना त्यति नआउने गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाको एक तथ्यांक अनुसार भने ८६० वालवालिकाले अघिल्लो आर्थिक बर्षमा बच्चा जन्माएको बताएको छ । कार्यालय प्रमुख सापकोटाका अनुसार जिल्लाभर वालविवाह धेरै भएको यो एक सामान्य तथ्यांक हो ।

प्रतिक्रिया दिनुहोस्