पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आपत्तिजन अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन



वीरगन्ज : वीरगन्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला दहन गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आपत्तिजन अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन गरिएको हो ।  

वीरगन्जका विभिन्न राष्ट्रवादी संघ संगठनहरुले संयुक्त रुपमा वीरगन्जको घण्टाघर चौकमा नेकपा अध्यक्ष ‘प्रचण्ड’ को पुतला दहन गरेका हुन् । 

आइतबार प्रचण्डले खैरेनी घाटमा बनेको पक्की पुल उद्धाटन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । 

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रविरुद्ध दिएको अभिव्यक्तिको विरोधमा वीरगन्जका विभिन्न राष्ट्रवादी संगठनहरुले प्रचण्डको कडा आलोचना गर्दै उनको पुत्ला दहन समेत गरेका थिए । उनीहरुले प्रचण्डविरुद्ध चर्को नाराबाजी समेत लगाएका थिए । 

प्रचण्डले १७ हजार नेपाली जनताको हत्यारा हुन उनीमाथि ज्यानमार्ने मुद्दा चलाएर कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । उनीहरुले निमुखा १७ हजार निर्दोषको हत्या गरी उनीहरुको जनधन समेत लुटेका प्रचण्डलाई जनअदालतमा उभ्याउनु पर्ने माग गरेका हुन् । 

साथै उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, हत्यारा प्रचण्ड मुर्दाबाद, राजा आउँ देश बचाउँ, देश लुटन पाइदैन, जनता मार्न पाइदैन, राजा कसको जनताको लगायत नारा समेत लगाएका थिए । 

पुत्ला दहन कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयल, राष्ट्रिय नागरिक संघर्ष समिति बाराका अध्यक्ष महमद सतार अन्सारी, नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, मञ्चका नगरअध्यक्ष उपेन्द्र बरई, अन्नु राणा लगायतले एउटा समान नागरिकको ओहोदामा बसेका पूर्वराजामाथि खनिएका प्रचण्डको दरिद्र मानसिक्ता रहेको भन्दै खनिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्