पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट



काठमाडौं । पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने ५ दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रतियोगिता २१ असारबाट सुरु हुनेछ।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) मा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ३० हजार रुपैयाँ छ। जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुबै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुबै खेलाडीले १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँबाट सम्मानित हुनेछन्।

यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैंया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए।

प्रतिक्रिया दिनुहोस्