६ सय ८० गैरकानुनी आप्रवासी कामदार पक्राउ



एजेन्सी : अमेरिकामा गैरकानूनी रुपमा बस्दै आएका करीब ७ सय आप्रवासी कामदार पक्राउ परेका छन्। अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई बुधबार पक्राउ गरेको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ।

ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये केहीलाई मानवीय कारणले रिहाइ गरिनेछ। उनीहरू अध्यागमन अदालत, न्यायाधीवक्ताको कार्यालयमा उपस्थित हुनु पर्नेछ। बाँकी अरूलाई लुजियानास्थित हिरासत केन्द्रमा राखिनेछ।

पक्राउ परेकाहरू कुन-कुन देशका हुन भन्ने खुलाइएको छैन। डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेको थियो।

अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्।

प्रतिक्रिया दिनुहोस्