डीआईजीमा पनि मिचियो वरीयता



काठमाडौं। नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरीयताक्रम मिचिएको विवाद किनारा नलाग्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिसमा पनि वरिष्ठताक्रम मिचिएको छ।

गृह मन्त्रालयले बुधबार राति नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसमा डीआईजीका दाबेदारहरूले विगतमा प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कनको नम्बर र वरीयताक्रम मिचिएको गुनासो गरेका छन्।

प्रहरीभित्र विगतदेखिको राजनीतिक हस्तक्षेपले प्रहरीको उपल्लो तहको तहको बढुवा र नियुक्ति प्रायः विवादमा पर्दै आएको छ । अहिले आईजीपी नियुक्तिमा समेत वरीयता मिचिएको आरोपमा मुद्दा खेपिरहेको सरकार डीआईजी बढुवामा पनि विवादमा तानिएको छ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा भन्दा राजनीतिक नेतृत्वसँग निकटताका आधारमा बढुवा सिफारिस गरिएको आरोप सरकारमाथि लागेको छ। भविष्यमा प्रहरी नेतृत्वमा आफू निकटका अधिकारीलाई पुर्‍याउनका निम्ति वरीयताक्रमलाई सरकारले खिल्ली उडाएको असन्तुष्ट प्रहरी अधिकारीहरूको आरोप छ। सत्ता, शक्ति निकट रहेका व्यक्तिहरूको घरदैलो धाउने र अनुचित लाभ पुर्‍याएर नेतृत्वमा पुग्ने बेथिति यस पटक पनि दोहोरिएको बढुवा सूचीको सिफारिसमा रहेका तर असन्तुष्ट एक प्रहरी वरिष्ठ उपरीक्षकले बताए।

‘सरकार र गृह मन्त्रालयले आफूअनुकूलका व्यक्तिहरूलाई पदोन्नति र लाभको प्राथमिकतामा राख्ने क्रम रोकिएको छैन’, ती अधिकारीले द नेपालटपसँग भने, ‘मूल्याङ्कन पद्धति वैज्ञानिक र निष्पक्ष नभएसम्म बढुवा प्रक्रिया अझै वर्षौंसम्म आलोचित भइरहन्छ।’ यस्तो प्रवृत्तिले समग्र प्रहरी फोर्सको मनोबलमा ठेस पु¥याउने र सेवा प्रवाहसमेत प्रभावित बन्ने ती अधिकारीको तर्क छ । बुधबार राति गरिएको बढुवा सिफारिसमा रहेका अशोक सिंह, किरण राना, दुर्गा सिंह र सुदीप गिरी १५ प्रतिस्पर्धीभन्दा कनिष्ठ हुन् ।

बढुवा सिफारिसको पहिलो नम्बरमा एसएसपी वसन्त कुवँर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली छन्।चौथो सूचीमा रहेका थापा १९ भदौ २०५२ मा प्रहरी निरीक्षक नियुक्त भएका थिए। त्यसैगरी बढुवा सिफारिसको आठौँ नम्बरमा रहेका सुदीप गिरी, १०औँ नम्बरमा रहेका टेकबहादुर तामाङ र १२औँ नम्बरमा रहेका भीमप्रसाद ढकाल पनि थापाकै समकक्षी हुन्। उनीहरू पनि १९ भदौ २०५२ मा प्रहरी निरीक्षक नियुक्त भएका थिए।

आफ्ना समकक्षीहरूसँगै एसपीबाट एसएसपीमा पदोन्नति हुँदा १३औँ नम्बरमा रहेका वसन्त कुँवर डीआईजी बढुवा सिफारिसमा १ नम्बरमा पुगेका छन् । हाल उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख रहेका कुँवर प्रहरी निरीक्षक नियुक्त हुँदा आफ्नो ब्याजको १२औँ नम्बरमा थिए।

एसएसपी बढुवाको २०औँ नम्बरमा रहेका अशोक सिंह अहिले तेस्रो नम्बरमा सिफारिस हुनु र ४ जना कनिष्ठहरूलाई बढुवा सिफारिस गरिएकाले स्वतः कार्यसम्पादन मूल्याङ्कन निष्पक्ष नभएको प्रहरी अधिकारीहरूको गुनासो छ। ‘अहिलेका आईजीपी जसरी जुनियरलाई उछिन्दै प्रमुख बने, अब पनि त्यसो नहोला भन्न सकिँदैन’, असन्तुष्ट एक प्रहरी वरिष्ठ अधिकारीले भने।

यो सिफारिस पनि आईजीपी नियुक्ति जस्तै अदालत पुग्न सक्ने ती अधिकारीले आशङ्का व्यक्त गरे। सरकारले गत १८ वैशाखमा धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सर्वोच्चमा परेको रिट अझै विचाराधीन छ । ज्येष्ठता र वरिष्ठताक्रम मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले गत १९ वैशाखमा सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरिएको छ। सो रिटको सुनुवाइ आगामी सोमबार हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्