दुर्गन्धले निस्सासिँदै विराटनगरवासी



  • ध्रुव भट्टराई

विराटनगर । देशभरका ठूला शहर र महानगर जस्तै विराटनगर महानगरपालिकाका लागि पनि फोहोर मैला व्यवस्थापन चुनौती बन्दै गएकोे छ। महानगरले फोहोर व्यवस्थापनका लागि खोला किनारलाई अस्थायी ल्यान्डफिल साइट बनाएको छ।

ल्यान्डफिल साइटमा सङ्कलन गरिएको फोहोर प्रशोधन नगरी लगेर फाल्ने गरिन्छ, जसका कारण ल्यान्डफिल साइट वातावरण र मानवीय स्वास्थ्यका लागि जोखिम बन्दै गएको छ। करिब साढे २ लाख जनसङ्ख्या रहेको विराटनगर महानगर क्षेत्रबाट दैनिक १२० टन फोहोर सङ्कन हुन्छ। यसरी सङ्कन भएको फोहोर प्रशोधन नगरेरै फालिन्छ। फोहोर व्यवस्थापनको उपयुक्त डम्पिङ साइटको अभावमा महानगरपालिकाको फोहोर लामो समयदेखि विराटनगर–६ स्थित ब्रह्मपुरामा रहेको केशलिया नदीको किनारमा थुपारिँदै आएको छ।

सही ढङ्गबाट फोहोरको व्यवस्थापन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव आसपासका स्थानीय बासिन्दाले झेल्नुपरेको छ। स्थानीय रामेश्वर ऋषिदेवले फोहोर रहेको आसपासका क्षेत्रमा झिँगाको कारण आतङ्क नै सिर्जना हुने गरेको बताए। उनले फोहोर व्यवस्थापन राम्ररी नगर्दा आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएर बसी नसक्नुको पीडासँगै बर्खाको समयमा फोहोर बगेर स्थानीय घर–आँगनसम्म आइपुग्ने गरेका कारण थप समस्या बेहोर्न स्थानीय बाध्य रहेका दुखेसो पोखे। ऋषिदेव भन्छन्, ‘खाने समयमा झिँगाले घेरेर सास्ती दिन्छ। फोहोरबाट निस्किने दुर्गन्धले स्थानीय सधैँ निस्सासिनुपर्छ। हाम्रो पीडा कसले बुझ्ने ? जे जसरी भए पनि बस्न बाध्य छौँ ।’

महानगरलगायतको फोहोर व्यवस्थापनका लागि १ दशकअघि फिनल्यान्डको करिब ४४ करोड रुपैयाँको लागतमा मोरङको डङ्ग्राहामा क्षेत्रीयस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र ल्यान्डफिल साइट निर्माण सुरु गरिएको थियो। तर, स्थानीयको अवरोध र विरोधका कारण १३ करोड रुपैयाँ खर्चिएपछि योजना नै रद्द भयो। प्रशोधन केन्द्र स्थापनाका लागि सरकारले त्यतिबेला करिब ३ करोड रुपैयाँको लागतमा मोरङको साबिक डङ्ग्राहा गाविस– ५ मा २६ बिघा ९ कट्ठा जमिन किनेको थियो ।

उक्त योजना बनेको भए विराटनगरसहित इटहरी, धरान र इनरुवा नगरबाट दैनिक निस्कने ५०० टन फोहोरको व्यवस्थापन गर्ने लक्ष्य थियो । त्यो लक्ष्य पूरा हुन सकेन। विराटनगरको फोहोर व्यवस्थापन गर्न कुनै दीर्घकालीन योजना नै अघि बढाइएको छैन। तर, महानगर भने अब दीर्घकालीन फोहोर व्यवस्थापनका लागि काम गर्ने बताउँदै आएको छ। नवनिर्वाचित प्रमुख नागेश कोइरालाले भने,हामी दिर्घकालिन सोचका साथ फोहोर व्यवस्थापनका लागि आवश्य तयारीमा छौँ।’ महानगरबाट जति पनि फोहोर निस्किन्छ, त्यसको समस्या नहुने गरी आवश्यक तयारीका साथ काम गर्ने सोचमा भएको उनले बताए।

महानगरपालिकाले अहिले विराटनगरको सम्पूर्ण फोहोर व्यवस्थापनको जिम्मा ३ निजी साझेदार कम्पनीहरूलाई दिएको छ। महानगरको उत्तरी भेगमा नेपाल फूलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी भेगमा आरएसडी सप्लायर्सले फोहोर व्यवस्थापनको कार्य गरिरहेका छन्। यी निजी साझेदार कम्पनीहरूलाई महानगरले फोहोर व्यवस्थापनका नाममा ५ वर्षको अवधिमा २ करोड ३३ लाख ३३ हजार २४० रुपैयाँ भुक्तानी गरेको छ।

३ वटा संस्थाले सङ्कलन गर्ने फोहोर भने विराटनगर– ६ र ५ हुँदै बग्ने केसलिया खोला किनारमा फाल्ने गरिएको छ । विराटनगर– ६ मा त निजी जग्गा नै भाडामा लिएर डम्पिङ गरिँदै आएको छ । तर, फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने प्रयास भएको छैन। यसका कारण ल्यान्डफिल साइट वातावरण र मानवीय स्वास्थ्यका लागि थप जोखिम बन्दै गएको छ।

सम्झौताविपरीत साझेदार कम्पनीहरूले पनि खोला किनारमै लगेर फोहोर थुपार्ने गरेका छन्। महानगरसँगको सम्झौताअनुसार फोहोरको डम्पिङ साइटको व्यवस्थापन साझेदार कम्पनीहरूले स्वयं गर्नुपर्ने हो। तर, साझेदार कम्पनीहरूका लागि विराटनगरको फोहोर उत्सर्जन केन्द्र पुरानै डम्पिङ साइट बन्दा यसले थप समस्या निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्