वीरगञ्ज महानगरपालिकाले ल्यायो ३ अर्ब ३३ करोड बजेट



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि महानगरले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको हो ।

बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार (३७.९६ प्रतिशत) छुट्याइएको छ ।

औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर भन्ने नारा सहित वीरगञ्ज महानगरपालिकाको नगर सभाको ११ औं अधिवेशनमा उप प्रमुख ईम्तियाज आलमले बजेट प्रस्तुत गरेका थिए ।

महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।

यस्तै क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।

महानगरले शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सूचना प्रविधि र सञ्चारतर्फ १ अर्ब ५ करोड ९५ लाख, सेवा प्रवाह संगठन सुद्दृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाई व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपांगता, संस्थागत विकास, राजश्व तथा अन्य आय संकलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्