भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख



चितवन । भरतपुर महानगरपालिकाले यसवर्षको बजेट बढाएको छ ।  महानगरपालीकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

जुन चालु आर्थिक वर्षको बजेटभन्दा १९.३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको स्रोत व्यवस्थापन तर्फ भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त गर्ने अनुमान गरेको छ भने जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

यस्तै भरतपुर महानगरले खानेपानी निस्शुल्क गर्ने भएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको बजेट कार्यक्रममा उपभोक्ताको खानेपानी महसुल महानगर आफैँले तिर्ने उल्लेख गरिएको हो ।

बजेटमा महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न ३ करोड बजेट व्यवस्थापन गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्