संविधानविराेधी समाचार सेयर गरेकाे भन्दै जागिरबाट बर्खास्त



जनकपुरधाम : असोज ३ गते देशका प्रायः भूभागमा संविधान दिवस मनाइरहँदा मधेसमा भने संविधान दिवसको विरोधमा संविधान जलाइनेसम्मका काम भए । 

संविधान दिवसकै दिन संविधानविरोधी समाचार फेसबुकमार्फत सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतमा खरिदार पदमा कार्यरत एक महिलाको जागिरै गएको छ । महोत्तरी पिपरा गाउँपालिका४ निवासी गुन्जा रायको संविधानविरोधी कार्य गरेकाले जागिर गएको हो । रायले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उक्त कुरा खोलेकी छन् । 

 

जिल्ला अदालतमा २०७३ पुसबाट खरिदारसरहको डिट्ठा पदमा करारमा उनी कार्यरत थिइन् । पत्रकार समेलनमा उलने भनिन्, ‘म अन्यायमा परेँ, मैले संविधानविरोधी विचार व्यक्त गरेको थिइनँ, लिङ्क मात्र सेयर गरेको थिएँ ।’ उनले आफूप्रति सरकारले अन्याय गरेको बताइन् ।  

 

नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजित पत्रकार सम्मेलनमा गुन्जाले भनिन्, ‘असोज ४ गते कार्यालय जाँदा राधाकान्त झा सरले बोलाउनु भो  र संविधानविरूद्ध फेसबुकमा के लेख्नुभो ? जवाफमा मैले यो मेरो विचार होइन, लिङ्क मात्र सेयर गरेकी हुँ भनी फर्काएँ ।’ त्यसको भोलिपल्टै आफ्नो जागिर गएको उनले जानकारी दिए । 

 

उनले आफूलाई थमाइएको पत्रमा आइन्दा समय थप नहुने भनी लेखिएको बताइन् । पत्र देखाउँदै उनले थपिन्, ‘मेरो कार्यालयमा सबैसँग राम्रो सम्बन्ध छ । लिङ्क सेयर गर्दैमा जागिर जाने यो कस्तो न्याय हो ?’ उनले देशको संविधानमार्फत मौलिक हकको व्यवस्था प्रस्ट पार्दिन सबैलाई आग्रह गरिन् । 

आफूलाई एक्कासि कामबाट हटाइएको पत्र दिँदा अन्याय भएको उनले बताइन् । आक्रोश व्यक्त गर्दै भनिन्, ‘मन्त्रीहरु पनि संविधानलाई टेकेर शपथ  खाएका हुन्छन्, तर उनीहरुले संविधान विरोध गर्दाचाहिँ किन केही नहुने ?’ उनले सरकारले साना कर्मचारीप्रति गरिएको यस कदमको विरोध जनाइन् । उनले आफूजस्ता धेरै व्यक्ति मधेसमा भएका र यस्तै अन्याय भोग्न बाध्य भएकाले सञ्चारकर्मीले यसबारे खुलेर सबैमाझ जानकारी गराइदिन आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्