म्यान्चेष्टर डर्वीः सिटी भर्सेस युनाइटेड, गार्डिओला भर्सेस मोरिन्हो



काठमाडौं : इंग्लिस प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी म्यान्चेष्टर युनाइटेड र म्यान्चेष्टर सिटी आइतबार आमने सामने हुँदैछन् । नेपाली समय अनुसार राति सवा १० बजे इथियाड स्टेडियममा हुनेछ ।

 

एउटै सहरका दुई प्रतिद्वन्द्वीवीचको यो खेल प्रतिष्ठाका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यो प्रतिष्ठा खेलाडी र समर्थकको मात्र होइन, म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप गार्डिओला र युनाइटेड प्रशिक्षक जोसे मोरिन्होबीचमा पनि उत्तिकै महत्वपूर्ण छ ।

 

सन् २०१८–१९ सिजनको यो पहिलो म्यान्चेष्टर डर्वी म्याच हो । खराब फर्मबाट गुज्रिरहेको म्यान्चेष्टर युनाइटेडका प्रशिक्षकका लागि आजको खेल निकै महत्वपूर्ण छ । पछिल्ला तीन खेलमा भने युनाइटेडले जित निकालेको छ ।

 

प्रिमियर लिगको दुई म्याच र च्याम्पियन्स लिगमा युभेन्टसलाई हराएपछि युनाइटेडको मनोबलमा केही बृद्धि भएको छ । लिगको ११औं चरणको खेल सकिँदा युनाइटेड शीर्ष स्थानको सिटी भन्दा ९ अंकले पछि छ । अघिल्लो सिजनको डर्वीमा सिटी र युनाइटेड दुबैले अर्काको मैदानमा जित हात पारेका थिए ।

 

सिटीले वल्ड ट्राफोर्डमा २–१ को जित निकालेको थियो भने इथियाड स्टेडियममा उत्कृष्ट कमब्याक गर्दै युनाइटेड ३–२ ले विजयी भएको थियो । समग्रमा यी दुई टिम प्रिमियर लिगमा ४२ पटक खेलेका छन् । जसमा युनाइटेडले २१ खेल जितेको छ भने सिटीले १३ खेलमात्र आफ्नो पक्षमा पार्न सफल भएको छ । बाँकी आठ खेल भने बराबरी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्