गोकुलेश्वर प्रहरी चौकी : जिर्ण भवनबाट मजबुद सुरक्षाको आश



बैतडी । गोकुलेश्वर बैतडीभरमा सुगम ठाउँको रुपमा परिचित छ । सुगम भएकै कारण गोकुलेश्वरमा व्यापारिक चहलपहल, कृषि कलेज, सरकारी तथा बोर्डिंङ स्कुलहरू, बैंक तथा वित्तिय संस्थाहरू छन् । यी सबैलाई सुरक्षा दिन भनेर स्थापना गरेको प्रहरी चौकी भने निकै जिर्ण र कमजोर छ । गोकुलेश्वर बजारस्थित महाकाली राजमार्गबाट एक सय मिटरको दुरीमा रहेको प्रहरी चौकीको भौतिक संरचना जुनसुकै बेला भत्किएने जोखिममा छ ।

गोकुलेश्वर प्रहरी चौकी भाडाको घरमा छ । प्रहरी चौकीको छत सामान्य वर्षामै चुहिन्छ । चौकीको छत चुहिन थालेपछि यहाँका १० जना प्रहरी कर्मचारी कहाँ जाने कता जाने विलखबन्दमा पर्छन् । चौकी रहेको घरमा पाँच कोठा छन् तर कुनै पनि कोठा बस्न लायक छैनन् । घर भाडा सस्तो भएकाले यही भजन भाडामा लिएको हो । कोठा मात्रै होइन शौचालय समेत जिर्ण छ । घरनजिकै पानीको धारा नहुँदा पानी ल्याउनै बिहान बित्ने गरेको प्रहरीहरूको भनाइ छ ।

प्रहरी चौकीका इन्चार्ज, प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामीले भने, ‘घर जिर्ण हुँदै गएको छ । यहाँ गाडी वा मोटरसाइकल आउने बाटो समेत छैन् । पैदल आउने बाटो पनि साघुँरो र भिरलो छ । आरोपितहरूलाई चौकीमा ल्याउन समेत समस्या छ ।’

चौकीमा थुनवा कक्ष नभएकाले सोधपुछका लागि कसैलाई राति राख्नु परे इलाका प्रहरी कार्यालय पाटनमा जानकारी गराई इप्रकाको समन्वयमा छिमेकी दार्चुलाको शैल्यशिखरस्थित इप्रका पु¥याउनुपर्ने बाध्यता छ ।

गोकुलेश्वर प्रहरी चौकी जाने जोखिमपुर्ण बाटोबाट गतबर्ष एक प्रहरी जवान चौलानी किनारमा खसेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठले बताए । घाइते जवानको उपचारमा १२ लाख खर्च भैसकेको श्रेष्ठले बताए । उनले भने, ‘गोकुलेश्वर प्रहरी चौकीका लागि घर निर्माण, खानेपानी र बाटो जरुरी देखिन्छ । अरुलाई सुरक्षा दिने निकाय आफै असुरक्षित भएकाले यसतर्फ सरकारको ध्यान जाओस् ।’

गोकुलेश्वर प्रहरी चौकीको समस्या समाधानको पहल गर्ने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । प्रहरी चौकी निर्माणका लागि जग्गा माग गरिसकेको र जग्गा प्राप्त भएपछि घर निर्माण गर्न पालिकाबाट सम्बन्धन नभए माथिल्लो सरकार तथा गृहमन्त्रालयसँग पहल गर्ने उनले बताए । प्रहरी चौकीको समस्या समाधान गर्न स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयले पहल थाल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्