नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने केसीको धारणा



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन ।

सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरेका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसाङ्ख्यिक आक्रमण भएसरह हुने दाबी गरे ।

उनले भने–‘नेपालमा जनसाङ्ख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विधेयक पारित गराउने हो भने नेपालका जनता चाहिँ अल्पमतमा पर्ने र अङ्गीकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरू बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौँ । नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि निर्णय गरेको छ । सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नुहुँदैन । ०७२ को संविधानमा केही त्रुटि भएको भए पनि त्यसलाई सच्याएर जानुपर्छ । वैवाहिक अङ्गीकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नुहुन्न । यो हाम्रो पार्टीको माग हो ।’

अध्यक्ष केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको स्पष्ट पारे । केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको सुनाएका छन ।

प्रतिक्रिया दिनुहोस्