मर्मत सम्भारको अभावमा जीर्ण बन्दै एसियाकै दोस्रो लामो झोलङ्गे पुल



महेन्द्रनगर : महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल कञ्चनपुरको एउटा मुख्य पर्यटकीय स्थल हो । पुलको अवलोकनका लागि वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । महाकाली नदीको सौन्दर्य र पुलको आकर्षणले पर्यटकलाई एक पटक अवलोकनका लागि जान बाध्य नै बनाउँछ ।

 

महाकाली नगरपालिका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको हो । यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ । कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिइरहेका हुन्छन् ।

 

तर उचित मर्मत सम्भारको अभावमा झोलङ्गे पुल जीर्ण बन्दै गइरहेको छ । विसं २०६१ मा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिदा पुल जीर्ण बन्दै गएको हो ।

 

पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन् भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ । त्यति मात्रै होइन, पुलको चारैतिर लगाइएका फलामे डोरी चुडिन थालेका छन । प्लेटहरु फुस्कीन थालेका छन् । पुलकोबीच भागमा बिछ्याइएका फलामे पाता समेत ठाँउ–ठाँउमा च्यातिएका छन् ।

 

मोटरसाइकलमा अत्यधिक भार भएका सामग्री ढुवानी गर्दा पुल जीर्ण बन्दै गएको स्थानीयहरुको भनाई छ । पुलबाट ५० किलोभन्दा बढी सामान ओसार्न नपाइने नियम छ । तर नियम विपरित बढी भारको समान ओसारपसार हुने भएकाले पुल जीर्ण बन्दै गएको हो । यसलाई नियन्त्रण गर्नका लागि नियमित पुल क्षेत्रमा चेकजाँच गरिदै आएको प्रहरीको दाबी छ ।

 

महाकाली नगरपालिकाका बासिन्दालाई सदरमुकाम महेन्द्रनगर तथा देशका अन्य भू–भाग जोड्ने एक मात्रै विकल्पका रुपमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले स्थानियहरु चिन्तित भएका छन् । स्थानिय दीलबहादुर सिंहले भने, ‘यसअघि पुल नबन्दासम्म घुमाउरो बाटो हुदै भारतीय पक्षको सास्ती खेपेर यात्रा गर्ने गर्दथे, अब पुल जीर्ण हुन्दै गएकाले फेरी पहिले कै समस्या आउँछ की भनि चिन्ता लागेको छ । ’

 

झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको खतरा पनि बढ्दै गएको छ । पुलमा आवतजावत गर्न असहज हुन थालेको स्थानियहरुले बताएका छन् । ‘पुलमा हिड्दा डराइ डराइ हिँड्नुपर्छ ।’ स्थानिय हरि नेपालीले गुनासो गरे ।

 

पुलको मर्मत सम्भारका लागि बेला बेलामा स्थानीय निकायलाई जानकारी गराए पनि कुनै पहल नगरेको स्थानियहरुको आरोप छ । पुलको विषयलाई लिएर स्थानीयहरु स्थानिय निकायमा धाउदै आएका छन् ।

 

कञ्चनपुरको पहिचान तथा सम्पत्तिका रुपमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको बेलैमा उचित मर्मत सम्भार हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्