नेकपा एसमा मन्त्री सकस : हेरफेर निर्णय अनुमोदन, देउवा र प्रचण्डलाई दोष



काठमाडौं। मन्त्री भएका नेताहरूको फरक मत हुँदाहुँदै नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको छ। यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई स्थायी कमिटी र पोलिटब्युरो बैठकले अनुमोदन गरेको थियो। शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पनि अनुमोदन गरेपछि मन्त्री हेरफेर हुने भएको हो ।

बैठकमा भने मन्त्रीहरू प्रेमबहादुर आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहभागी भएनन्। स्वास्थ्यमन्त्रीमा सिफारिस भएका भवानीप्रसाद खापुङ मात्र बैठकमा सहभागी थिए । मन्त्रीहरू आले, खतिवडा र झाँक्री भने पोलिटब्युरो बैठकमा मात्र सहभागी थिए। उनीहरूबिनाको केन्द्रीय कमिटी बैठकले मन्त्री हेरफेरको निर्णय अनुमोदन गरेपछि पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले आइतबार बेलुकीसम्ममा सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसक्ने दाबी गरेका छन् ।

‘मन्त्रीहरू पनि फिर्ता हुन तयार हुनुहुन्छ । त्यसो भएपछि आइतबार मन्त्री नियुक्त भएर शपथ नै लिनुहुन्छ। अब समस्या छैन’, उनले द नेपालटपसँग भने, ‘मन्त्रीको सूची संशोधन हुँदैन । समय क्रममा नाम थप्नुपर्ला या घटाउनुपर्ला । तर, अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’ खतिवडाले पार्टीका तर्फबाट मन्त्री भएका सबैले राजीनामा दिने तयारी गरेको भनिए पनि केही मन्त्रीहरू भने आनाकानी गरिरहेका छन् । मन्त्रीहरू खतिवडा, झाँक्री र श्रेष्ठले तत्काल राजीनामा दिन आनाकानी गरिरहेका एक पोलिटब्युरो सदस्यले बताए । उनका अनुसार मन्त्री आलेले भने शुक्रबारको स्थायी कमिटी बैठकमा ४८ घन्टाभित्र राजीनामा दिने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार आलेले आइतबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका छन्।

उनी सकारात्मक भएपछि संसदीय दलको बैठक बस्न माग भएको पत्रमा गरिएको हस्ताक्षर निकटस्थ सांसदहरूले फिर्ता पनि लिएका छन् । फिर्ता लिएपछि सांसद बीना बुढाथोकीले अध्यक्ष माधवकुमार नेपालललाई पार्टीबाट पठाउने नयाँ मन्त्रीमा महिला अनिवार्य हुनुपर्ने र एउटै प्रदेशबाट २ जनालाई मन्त्री बनाउन नहुने माग गरेर हस्ताक्षर फिर्ता लिएको बताइन् । ‘वर्तमान मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट महिला मन्त्री हुनुहुन्छ । त्यही भएर समावेशी ढङ्गले मन्त्रीको नाम सिफारिस गर्नुपर्छ । यो कुरा अध्यक्ष कमरेडलाई भनेका छौँ’, सांसद बुढाथोकीले भनिन्, ‘मन्त्री पनि प्रदेशबाट प्रतिनिधित्व गराउनुपर्छ। एउटै प्रदेशबाट २ जनालाई अवसर दिनुहुँदैन भन्ने माग छ। यसमा अध्यक्ष कमरेड सकारात्मक हुनुहुन्छ ।’ तर, यसअघि सचिवालय बैठकले गरेको मन्त्री सिफारिसको निर्णय पार्टीको विभिन्न तहगत कमिटीले अनुमोदन गरिसकेको छ, जसका कारण सांसद बुढाथोकीले भने जसरी पार्टीको तर्फबाट महिला सांसद यस पटक मन्त्री नहुने निश्चित भएको छ।

२२ जेठमा सचिवालय बैठकले जीवनराम श्रेष्ठलाई संस्कृतिमन्त्री, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री, मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रममन्त्री र स्वास्थ्य राज्यमन्त्री हिरा केसीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । चौधरी र केसी लुम्बिनी प्रदेशका हुन् । खापुङ प्रदेश १, श्रेष्ठ बाग्मती र कुँवर सुदूरपश्चिम प्रदेशका हुन् । यसअघि मन्त्री आलेसहितले एउटै प्रदेशदेखि २ जनालाई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नहुने र महिलालाई समावेश गर्नुपर्नेलगायतका माग राखेका थिए। तर, शनिबार केन्द्रीय कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गरेसँगै यस पटकका लागि सिफारिसमा परेकाहरू मन्त्री बन्ने भएका छन्। अर्थात् मन्त्री बन्नेहरूको नाम संशोधन नहुने भएको छ।

एकीकृत समाजवादीले मन्त्रीका लागि नाम सिफारिस गरेको २२ दिन भएको छ। तर, एकातिर फिर्ता बोलाइएका मन्त्रीहरू आउन मानेनन् भने अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सिफारिस भएकाहरूलाई शपथ ग्रहण गर्न तत्काल चाहेनन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले यसको दोष प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन्।

शनिबार पत्रकारहरूसँगको बैठकमा नेताहरूको भनाइ उद्धृत गर्दै उपमहासचिव खतिवडाले भने, ‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्खियौँ। तत्काल हाम्रा काम पूरा गर्नुहोस्। नयाँ मन्त्री शपथ ग्रहण गराउनुहोस् । अब ढिला गर्नुभयो भने तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौँ ।’ एकीकृत समाजवादीले आलोपालो प्रणालीअनुसार ६/६ महिना मन्त्री बन्नेगरी आले, झाँक्री, खतिवडा, श्रेष्ठ र खापुङलाई पठाएको थियो । उनीहरू २२ असोज २०७८ मा मन्त्री भएका हुन् । आलोपालोअनुसार उनीहरू २२ वैशाखसम्म मात्र मन्त्री हुनुपर्ने हो । तर, स्थानीय तह निर्वाचन र बजेट अधिवेशनले गर्दा उनीहरू मन्त्री भइरहेका छन् ।

सबै निर्वाचन क्षेत्रमा तयारी
नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन तयारी थाल्ने भएको छ । गठबन्धन दलहरूबीच तालमेल नहुने स्थिति भए त्यस्तो अवस्थामा एक्लै भए पनि निर्वाचनमा जानेगरी तयारी थाल्ने केन्द्रीय कमिटी बैठकको निष्कर्ष भएको उपमहासचिव खतिवडाले बताए । सङ्घीय संसद्को १६५ र प्रदेश संसद्को ३३० वटा निर्वाचन क्षेत्र छन् ।

यी सबै क्षेत्रमा राम्रो तयारी गर्ने र तालमेल हुने भएको अवस्थामा गरिएको तयारीको बलमा गठबन्धनका अन्य दलसँग सिट ‘बार्गेनिङ’ गर्ने उनको भनाइ छ । उक्त पार्टीका एक सांसदका अनुसार कम्तीमा २० सिट सङ्घीय संसद्मा लिनुपर्ने केन्द्रीय कमिटी बैठकमा चर्चा चलेको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरे । बैठकलाई नेपालसँगै सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्