छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु



विराटनगर : प्रदेश-१  अन्तर्गत मोरङ र सुनसरी जिल्लामा शनिबार र आइतबार भएको छुट्टा–छुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

 

दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुन्दर हरैँचा १० का रोशन गजुरेल रहेका छन्। मोरङ सुन्दर हरैँचा–९ स्थित विराटचौकमा शनिबार राती मे१च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको को१६प २७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक गजुरेल गम्भीर घाइते भएका थिए।

 

उनको उपचारकै क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक झापा शिवसताक्षी नगरपालिका–६ का ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका १ का सुनिल गुरागाई घाइते भएका छन्।

 

उनीहरूको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। यस्तै सुनसरीको इटहरी–१७ पकलीस्थित राजमार्गमा शनिबार मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ का दीपक खतिवडा रहेका छन्। शनिबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको को २६प५७३१ नम्बरको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।

 

ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्