महिलालाई उम्मेदवार बनाउन निकै मुश्किल भयो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महिलालाई उम्मेदवार बनाउन गाह्रो भएको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै भएको नेपालले बताएका छन् । महिलालाई मेयरको उम्मेदवार दिँदा पनि कति गाह्रो हुँदो रहेछ। झन्डै बिद्रोह नै भयो। जिल्ला अध्यक्षले नै विद्रोहको झण्डा उठाए। पछि पार्टी छाडेर गए। पछि बिजोग भयो, नेपालले भने, जित हाम्रै भयो। ठीक निर्णय भएको रहेछ भन्ने भयो।

एकीकृत समाजवादीले हेटौंडा उपमहानगरमा मीनाकुमारी लामालाई मेयर उम्मेदवार बनाएपछि मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेका थिए । हेटौंडामा एकीकृत समाजवादीकै उम्मेदवार मेयरमा निर्वाचित भइन्।

नेपालले महिलालाई हकअधिकारमात्र हैन कर्तव्य पालनामासमेत अग्रसरता बढाउनुपर्ने धारणा राखेका छन् । नेपालले महिलाका विषयमा विभिन्न मुद्दाहरु उठ्दा पनि आफ्नो पार्टीको महिला संघ भने कतै नदेखिएको भन्दै गुनासो समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्