ओलीले संविधान मिच्न थालेपछि हामीले विद्रोह गर्‍यौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपानलले एमाले अध्यक्ष केपी ओलीले संविधान मिच्न थालेपछि आफुहरुले पार्टीमा विद्रोह गरेको बताएका छन् ।

आइतवार अखिल नेपाल महिला संघ समाजवादी को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

साथै नेपालले नेकपाको सरकार हुँदा ओली स्वेच्छाचारी हुन थालेपछि आफुहरुले विद्रोह गरेको समेत बताए । केपी ओलीले देशभक्ति भावना त्यागेतर विदेशीहरुको हितमा काम गर्न थालेपछि पार्टीमा झनै विद्रोह सुरु भएको समेत उल्लेख गरेका छन् ।

ओली सरकारले चुच्चे नक्सा किताबमा छापिँदा समेत वितरणमा रोक लगाएको आरोप लगाउँदै हरेक कोणबाट स्वेच्छाचार हुँदै गएकोले पार्टीमा विद्रोह भएको माधव नेपालको दाबी छ ।

साथै नेपालले पार्टी विद्रोह गरी पार्टी निर्माण गर्दा निकै मुश्किल भएको स्मरण गराएका छन् । ओलीले पार्टी निर्माणमा चलखेल गर्ला भनेर बस चढी चन्द्रागिरी पुगेको घटनासमेत माधव नेपालले स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्