ढकप्पै ढाक्याे जनकपुरलाई छठले : प्रहरीकाे सहयाेगदेखि विदेशीकाे विहारसम्म



जनकपुरधाम : सूर्यको पूजा आराधना गरी मनाइने आस्थाको पर्व छठ आजदेखि विधिवत् रुपमा सुरु भएको छ । जनकपुरका एफ रेडियोमा छठका गीत घन्किरहेका छन् । स्थानीय टीभीहरुले जोडतोडका साथ छठसम्बन्धी कार्यक्रम देखाइरहेका छन् । चारैतिर छठको रौनक छाइरहेको छ । पोखरीको सरसफाइमा जनकपुरवासी व्यस्त छन् । जनकपुर अहिले रंगिएको छ । 

छठमा व्रतालुहरु सफा र शुद्ध भई चोखो खाने कुरामात्र खाने गर्छन् । जसलाई मैथिली  भाषामा ‘अरवा अरवाइन’ अर्थात् उसिनेको चामल, मुसुरोको दाल, कोदो र लसुन प्याज बार्ने हुन्छ । यसलाई नहाए खाए पनि भन्ने गरिन्छ । नहाए खाएको दिनपछि छठ नसकुन्जेल व्रतालु तथा परिवारका सदस्यहरु माछा, मासुजस्ता तामसी आहार खान बन्द गर्ने गर्छन् ।

 

दोस्रो दिन भोलि खरना मनाइने गरिन्छ । व्रतालुहरु दिनभर उपवास बसी शुद्ध पारिएको कोठामा खीर, पुरी, केरा नैवेदयादि प्रसाद केराको पातमा राखी ईश्वरको आराधान गर्छन् । 

 

मंगलबार अस्ताउँदो गरेको र बुधबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठको समापन हुन्छ । जनकपुर, वीरगन्ज, राजविराजलगायत ठाउँमा छठको तयारी करिब अन्तिम चरणमा पुगेको छ । 

 

सूर्य उपासनाको पर्व छठमा विभिन्न प्रकारका पूजा सामग्रीहरु व्यवस्था गर्नुपर्ने हुन्छ । तिहारलगत्तै आइतबारबाट सुुरु छठको निमित्त स्थानीय युवा क्लबका सदस्यहरु शनिबारबाट छठ पर्व मनाइने जनकपुरका विभिन्न पोखरी सफाइमा जुटेका छन् । 

 

यस कार्यमा जनकपुरका सुरक्षाकर्मीले समेत साथ दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरीले जनकपुरमा स्थानीयसँग मिलेर दर्जनभन्दा बढी पोखरी सफाइ गरेका छन् । 

 

जनकपुरस्थित गंगासागर, धनुष सागर, अंगराजसर, रत्नसागर, विहार कुण्ड, महाराज सागर, रामसागरलगायत एक दर्जनभन्दा बढी पोखरीमा मनाइने छठ पर्व आकर्षणको केन्द्र बनेको छ । छठ पर्वका व्रतालु तथा परिवारका सदस्यहरु पूजा सामग्रीको बन्दोबस्तमा जुटेका छन् ।

 

छठ पर्वमा महत्वपूर्ण मानिने केरा, उखु, नरिवललगायत फलफूलका साथै बाँसले तयार पारिएको डालो, छिट्टा बन्दोबस्तमा व्रतालु जुटेका छन् । यसैगरी माटोले निर्माण गरिएको हात्ती, ढकना, गाग्रीलगायत सामग्री खरिद गर्न व्रतालु जुटेका छन् ।

 

छठ हेर्न भनी विदेशी नागरिक पनि जनकपुर आएका छन् । जापान, डेनमार्क र अस्ट्रेलियादेखि पाहुनाहरु आएका छन् । 

प्रतिक्रिया दिनुहोस्