नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक



काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ अध्यक्षमा निर्वाचित भए। बुढानिलकन्ठस्थित पार्क भिलेजमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो। सदस्यको भने गणना जारी थियो।

यही समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई भविष्यको कामनासहित नेपाली फ्यान्सलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए। तर, सामाजिक सञ्जालको स्टोरी अब्दुल्लाहले केही समयमै हटाए।

प्रतिक्रिया स्वाभाविक थियो, नतिजा अब्दुल्लाहले चाहेको जस्तो थिएन। उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भए। अब्दुल्लाहले यसअघि नै शेर्पाबाहेक नयाँ टिमसँग आफू काम नगर्ने बताएका थिए।

नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो। तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रवीन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्‍यो।

महत्वपूर्ण अर्को निर्णयमा प्रशिक्षक अब्दुल्लाहसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्‍यो। यस्तै प्रशिक्षकको हकमा भने निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी छानविन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो। अर्थात् उनको विकल्प खोज्न आग्रह गरियो।

निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्क भएको र अब्दुल्लाह नेपाल फर्कन इच्छुक भएको न्युज कारखानालाई बताएका छन्। ‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने।

गत महिना नेपाली टिम १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो। ३ खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अब्दुल्लाह भने कर्मभूमि फर्किएनन्। उनले ३ महिना बिदा मागेका छन्।

महासविच किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भइसकेको न्युज कारखानालाई बताए। प्रशिक्षक अब्दुल्लाहले समेत योजना सार्वजनिक गरेका छन्। प्रशिक्षक अब्दुल्लाहले आफ्नो अर्को लक्ष्य फिफा विश्वकप २०२६ छनोट, एसियन कप २०२७ छनोट र साफ कप २०२३ रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्