प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्रीहरु



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन ।

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका हुन । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन ।

एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर संसदमा आगामी आर्थिक वर्ष ०७९-८० को बजेटमाथि छलफल चलिरहेकाले २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । यसैबीच आजै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्