अस्तित्व रक्षाको पर्खाइमा रामायण भवन



  • जयन्त ठाकुर

जनकपुरधाम । जनकपुरधामका अधिकांश स्थल राम र सीतासँग जोडिएका छन् । यसका साथै सीता, राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिरहरू समेत छन् यहाँ । सोहीमध्ये जनकपुरधामस्थित राम मन्दिरको ठिक अगाडि र धनुष सागर पोखरीको डिलमा छ– रामायण भवन ।

जनकपुरधामको ऐतिहासिक रामायण भवन भने अहिले आफ्नै अस्तित्व खोजिरहेको छ । रामचरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा जीर्ण हुँदै गइरहेको छ ।

तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षणतर्फ कुनै निकायले ध्यान दिन नसक्दा सो भवनको अस्तित्व नै मेटिने खतरा बढेको छ । धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवनको भित्री भित्तामा ‘रामचरित मानस’ लेखिएको छ भने सीता–रामको विवाहसँग सम्बन्धित तस्बीरहरू पनि कुँदिएका छन् । केही वर्ष अगाडिसम्म रामायण भवन श्रद्धालु भक्तजनहरूका लागि अकर्षणको केन्द्र नै थियो ।

जनकपुरधाम आउने पर्यटकहरू जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि सो भवनमा समेत पूजा, अराधनाका लागि पुग्ने गर्थे । पछि सत्य साई केन्द्र नामक संस्थाले सो भवनमा कब्जा गरेपछि भक्तजनहरू त्यहाँ जान छाडे । तर, अचेल सो भवन सर्वसाधारणका लागि बन्द गरिएको छ । सत्य साई केन्द्रले रामायण भवनमा कब्जा जमाएपछि गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अभियान चलाएर खाली गराउन सफल भएका थिए ।

महासेठले भने, ‘रामायण भवनमाथि रहेको केन्द्रको कब्जा हटाउन प्रशासनलाई सुरुमा गुहा¥यौँ तर प्रशासनले चासो नलिएपछि पुनरावेदन अदालत पुगेका थियौँ ।’ पछि तत्कालीन पुनरावेदन अदालतले सत्य साई केन्द्रलाई हट्न आदेश सुनाएको थियो ।

केन्द्रको कब्जाबाट रामायण भवन मुक्त भए पनि सो भवन जीर्ण भइरहेकामा महासेठले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कुरो बेलाबेलामा उठ्छ तर यहाँका धरोहरहरू संरक्षण हुन सकेका छैनन्, कसरी धार्मिक पर्यटनको केन्द्र बनाउने ?’

यहाँ दर्जनौँ युवा क्लबहरू छन् तर पूजा, मेला आदिको समयमा मात्र सक्रिय रहेका देखिन्छन् । उनका अनुसार यी धरोहरहरूको संरक्षणतर्फ क्लबहरूको ध्यान केन्द्रित भएके छैन ।

अक्षय कोषको अत्तोपत्तो नै छैन

रामायण भवनको नाउँमा काठमाडौंमा अक्षय कोष पनि रहेको छ । सो कोषमा ३ करोड ३ लाख रुपैया जम्मा छ । सो रुपैयाँकै ब्याजबाट पनि रामायण भवनको जीर्णोद्धार गर्न सकिने मञ्चका अध्यक्ष महासेठले बताए ।

तर, अक्षय कोषमा रहेको रकमको विषय अहिलेसम्म जनकपुरधामवासी समक्ष सार्वजनिक नगर्नुले सो पैसामा समेत अनियमितता भएको हुन सक्ने उनले आशङ्का गरे ।

रामायाण भवनको नाउँमा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो । रामायण भवनको नाउँमा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो ।

नेपाली सेनाले सो जग्गा ४ करोड रुपैयाँमा खरिद गरेको थियो । सोही ४ करोड रुपैयाँको काठमाडौंमै अक्षय कोष खडा गरिएको थियो तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्र रहेको जानकारी दिँदै महासेठले बाँकी ९७ लाख रुपैयाँ हिनामिना भइसकेको आरोप लगाए ।

यता, अक्षय कोषको विषयमा गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीलाई सोध्दा उनले आफूलाई अक्षय कोषको विषयमा कुनै जानकारी नरहेको र काठमाडौंमा खाता रहेकाले केन्द्रीय गुठी कार्यालयकै संरक्षणमा त्यो अक्षय कोष भएको हुन सक्ने बताए । गायब रहेको बाँकी ९७ लाख रुपैयाँको विषयमा समेत उनले केही जानकारी दिन रुचाएनन् ।

‘अक्षय कोष र अक्षय कोषको बाँकी ९७ लाख रुपैयाँ कहाँ छ भन्ने विषयमा केही जानकारी छैन’, अगाडि भने, ‘त्यस समयका कुनै कर्मचारी पनि कार्यालयमा अब कार्यरत नरहेकाले यस विषयमा जानकारी केही मिल्दैन ।’ तर, रामायण भवनको सौन्दर्यीकरण तथा जीर्णोद्धारका लागि गुठी कार्यालय गम्भीर रहेको उनले स्पष्ट पारे ।

गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले रामायाण भवनको जीर्णोद्धार एवं सौन्दर्यीकरणका लागि आफूहरू गम्भीर रहेको प्रतिबद्धता जनाइरहँदा त्यसका लागि आएको रकमको सदुपयोग कार्यालयले गर्न नसकेको मञ्चका अध्यक्ष महासेठले आरोप लगाए ।

उनका अनुसार २०७१ सालमा केन्द्रीय गुठी कार्यालयले रामायण भवनको सौन्दर्यीकरण एवंं जीर्णोेद्धारका लागि २५ लाख रुपैयाँ छुट्याएको थियो तर सो रकमको पनि अत्तोपत्तो छैन ।

यता, गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले जीर्णोद्धारका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको स्वीकार गर्दै सो रकम निकासा हुन नसकेकाले कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पारे ।

उनका अनुसार गत आर्थिक वर्षमा समेत रामायण भवनको जीर्णोद्धारका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको थियो तर निकासा भएन । चालू आर्थिक वर्षमा समेत ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । बजेट निकासा भएसँगै जीर्णोद्धारको काम अगाडि बढाइने प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्