बलात्कारजस्ताे जघन्य घटनाकाे स्वास्थ्य परीक्षण नहुँदा अनुसन्धान लम्बियाे



जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य बलात्कारजन्य घटनाकाे स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा नहुँदा अनुसन्धान प्रक्रिया नै प्रभावित बनेकाे छ ।

 

कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पत्रचार गर्यो ।

 

२२ गते नै प्रतिष्ठानले यससम्बन्धि विशेषज्ञ चिकित्सक नभएको र भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले विषय विशेषज्ञ तालिम प्राप्त चिकित्सकबाट मात्र यस्ता घटनाको स्वास्थ्य परीक्षण गर्न भनेकाले काम हुन नसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने–‘यो सुविधा अहिले प्रतिष्ठानमा छैन । निकट भविष्यमै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’

 

पीडितले न्याय पाउनु पर्छ भन्ने हिसाबले जुम्लामा नभएपनि कालिकोट जिल्लामा पुर्याएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका सइ सीताराम रिजालले बताए । बलात्कार घटनाका चारै जना आरोपित फरार छन् । खोजतलास गर्न सजिलोका लागि नाम भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्