बजेटका प्रश्नलाई लिएर राजीनामा नदिने अर्थमन्त्रीको अडान



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन ।

बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताएकशा छन । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।

बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उनले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्