दक्षिण भारतमा भारी वर्षाका कारण क्षति



एजेन्सी : दक्षिण भारतका तीन राज्यका साथसाथै महाराष्ट्रमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ। केही दिनयता भएको भारी वर्षाका कारण धेरैजनाले ज्यान गुमाएका छन् भने धेरैजना बेपत्ता छन्। 

वर्षाका कारण महाराष्ट्रको कोल्हापुर र सांगली जिल्ला नराम्ररी प्रभावित छ। विगत केही दिनयता १४ जनाको मृत्यु भइसकेको छ भने हजारौंजना विस्थापित भएका छन्। उता कर्नाटकमा पनि वर्षाका कारण नौजनाको मृत्यु भएको छ। तमिलनाडुका कैयौं जिल्लामा पनि वर्षाको प्रकोप जारी छ। 

केरलमा मुसलधारे वर्षा, चर्कोसँग चलेको हावा र भूस्खलनका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। एकसय भन्दा बढी मानिसको उद्धार भइसकेको छ। उद्धारकार्य जारी छ।

वर्षाका कारण केरलमा सबै विद्यालय शुक्रवार बन्द गरिएका छन्। त्यसबाहेक कोच्ची विमानस्थलमा आइतवार अपराह्न तीन बजेसम्मका लागि विमान सञ्चालन बन्द गरिएको छ। केरल राज्य विपत व्यवस्थापन प्राधिकरणका अनुसार, बाढीमा फसेका २२ हजार १६५ मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।

प्रतिक्रिया दिनुहोस्