सामूहिक बलात्कारको घटना मिलापत्र गराउने १० मध्ये सात जना पक्राउ



मोरङ : बलात्कारको घटनामा मिलापत्र गराउने १० जना मध्ये ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार ७ जनालाई १६ वर्षिया एक किशोरीमाथि एकमहिना अघि भएको बलात्कारको घटनामा मिलापत्र गराएर घटना लुकाउने प्रयास गरेको आरोपमा मोरङको रंगेलीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार रंगेली नगरपालिका–९ की एक सुस्त मनस्थितीकी किशोरीमाथि असार २० गते रोमन मगर, प्रिन्स अधिकारी र सुनील चौधरीले बलात्कार गरेका थिए। सोही घटनालाई आर्थिक लेनदेनसहित मिलापत्र गराएर दबाउने प्रयास गरेका ७० वर्षीय निमलाल राजवंशी, ६५ वर्षीय रामबहादुर राजवंशी, ६० वर्षीय शेखर गौतम, ४० वर्षीय अभिनव बजगाई, ३७ वर्षीय चित्रसेन राजवंशी, ३५ वर्षीय सुवास राजवंशी र ३३ वर्षीय दिलिप मुर्मुलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ परेका सातैजना विरुद्ध शुक्रबार प्रहरीले जबरजस्ती करणी मुद्दामै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरेको कार्यालयका प्रहरी निरीक्षक गणेशप्रसाद दाहालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्