‘निर्मलाकाे हत्यारा पत्ता नलागेसम्म याे अनसन जारी राख्छाैं’



कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि पीडित परिवार अनिश्चितकालीन धर्नामा बसेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै जिल्ला प्रशासन कार्यालयको द्वारमा निर्मलाका आमाबुवा छोराछोरीसहित धर्नामा बसेका हुन् ।

 

आइतबार दिउँसो महेन्द्रनगरको मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरुले र्‍यालीसहित प्रदर्शन गरेका थिए । र्‍यालीमा निर्मलाका सहपाठीहरुसमेत थिए । महेन्द्रनगर बजारमा प्रदर्शनपश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि बुवा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसे । 

 

आमाबुवासँगै निर्मलाकी बहिनी सरस्वती र भाइ मोहितसमेत छन् । त्यसअघि निर्मलाका बुवा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।

 

उनले छोरीका हत्यारा सार्वजनिक नभएसम्म धर्ना जारी रहने जानकारी गराए । ‘अब छोरीका हत्यारा सार्वजनिक नभएसम्म म यहाँबाट उठ्दिनँ’ धर्ना बस्नुअघि यज्ञराजले भने, ‘मेरो लडाइँ न्यायका लागि हो ।’ उनले जस्तो सुकै अवस्था आए पनि न्याय नपाउँदासम्म धर्नामा बसिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्