हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दम नेपाली फिल्म खेल्दै



काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध भएका छन ।

चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको हो । उनले अरू सबै कलाकारभन्दा महँगो पारिश्रमिक लिने गरी सम्झौता गरेको निर्माण टिमले जनाएको छ।

हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन । सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन ।

‘गिनिज वर्ल्ड रेकर्ड राखेका अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्ममा खेल्नु हाम्रा लागि ठूलो कुरा हो,’ नीताले भनिन्, ‘यसले हाम्रो फिल्मको कास्टिङ बलियो बनाएको छ।’

यसअघि ‘ह्रस्व दीर्घ’ मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्।

नेपाल र भारतमा सुटिङ गरिने ‘ह्रस्व दीर्घ’ मा धनन्जय घलानी कास्टिङ निर्देशक हुन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ।

प्रतिक्रिया दिनुहोस्