‘भत्केको विकासको प्रकृया लयमा आउँदै छ, केही समय लाग्छ’



कैलाली : नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले हिजो भत्केको विकासको प्रकृयाले गति लिन केही समय लाग्ने बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ मा आइतबार  आयोजित वडास्तरीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले जनताले तत्कालै नतिजा चाहेको भए पनि विकास बिस्तारै हुने बताएका हुन् । 

सुदूरपश्चिमले अब विकासको गति समाउने बताउँदै उनले यो प्रदेशमा बजेट कसरी बढी ल्याउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको बताए । 

आफ्नो ठाउँमा आएकै बजेट कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा जनताले पनि चासो राख्नुपर्ने उनको भनाई थियो । 'बजेट मात्रै ल्याएर नहुँदो रहेछ', उनले भने, 'आएको बजेट सदुपयोग गर्न पनि जनताले सतर्कता अपनाउनु पर्छ ।' 

कैलाली क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता भट्टले कर जनताकै चाहनाअनुरुप खर्च हुने भएकाले स्थानीय सरकारले लगाएको करप्रति अप्ठ्यारो मान्न नहुने धारणा राखे । 

एक अर्को प्रसंगमा किसानका समस्या समाधानको लागि सरकार गम्भीर रहेको उनले बताए । नेता भट्टले धानको न्यूनतम मूल्य सरकारले निर्धारण गरिसकेकाले प्रदेश सरकारले समन्वय गरेर सरकारी निकायले तत्काल धान खरिद प्रकृया अगाडि बढाउने जानकारी दिए । 

वडा नम्बर ५ का अध्यक्ष कर्ण बहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णराज सुबेदी, चुनुकुमारी चौधरी, गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्