तीज लक्षित ५ हजार गीत रेकर्ड



– एमपी सुब्बा

काठमाडौं : पछिल्लो समय तीज गीतमा फेसन ‘ट्रेण्ड’ चलेको छ। जसका कारण एक दिनका लागि हजारौँ गीत बजारमा आइरहेका छन्। तीज हिन्दुधर्मालम्बी नारीहरुको विशेष पर्व हो। धार्मिक आस्था र सांस्कृतिक पहिचान बोकेको तीजका लागि सिजनल गीत निकाल्ने कलाकारको बाढी देख्दा लाग्छ, ‘तीज सांगीति उत्सव हो।’

स्मरणीय के छ भने वर्षेनी यहाँ तीजका लागि भनेर सयौँ गीत रेर्कड हुन्छन् र बजारमा आउँछन्। तर, गुञ्जिन्छ, एउटै गीत ‘तीजको रहर आयो बरिलै।’ अरु जति तीजका लागि गीत निकालिन्छ, त्यो ट्रेण्ड पलोअप मात्र हो। तर, उक्त ट्रेण्डले यहाँ केसम्म गरेको छभन्दा पनि केचाहिँ भएको छैन ? भन्ने प्रश्न उब्जाएको छ।

गायिका अञ्जु पन्तले पनि यसपाली तीजका लागि गीत गाइन्। उनले गाएको तीज गीत ‘ तीजको आयो लहर, आउ नाचौँ संगी हो जीन्दगी के छ र’ अहिले चर्चामा छ। यी चर्चित गायिकाले करिब ५ वर्षयता पहिलोपटक तीज गीत गाएकी हुन्। दुई दशकभन्दा लामो आफ्नो सांगीतिक यात्रामा हजारौं गीत गाइसकेकी अञ्जुले कमैमात्र तीजमा गाएकी छन्।

जुन गन्दा औँलामै अँठाउछ। क्रिष्टियन धर्म अँगालेपछि हिन्दुधर्मालम्बी नारीको पर्व मानिने तीजका लागि गाउने कुरै भएन। दुई वर्षअघि तीज गीतका लागि अफर आउँदा गाउन ‘अस्वीकार’ गरेपछि उनी विवादितसमेत बनेकी थिइन्। तर, यसपाली अञ्जुले ‘तीजको आयो लहर’ गाएकी छन्। यही नै ट्रेण्ड हो किनकि, पछिल्लो वर्षहरुमा तीज गीतले फेसनको रुप लिएको छ।

गायिका अञ्जुले गाएजस्तै महिना दिनयता गीतसंगीतको क्षेत्रमा तीजको लहर छपक्कै छाएको छ। तर, तीज आउनचाहिँ अझै तीन साताभन्दा बढी छ। पहिले–पहिले तीजकै दिनमात्र सम्बन्धीत गीत गुञ्जिन्थ्यो । त्यो पनि एउटै गीत ‘तीजको रहर आयो बरि लै’। उक्त गीतमै नेपाली दिदी–बिहिनी मज्जाले रमाउथे।

तर, विस्तारै तीज गीत अन्य कलाकारले गाउन थाले। तर, पाँच वर्षअघिसम्म अहिलेजस्तो ‘ट्रेण्ड’ नै चाहिँ थिएन। मानौँ, त्यो बेलासम्म ‘चर्चित गायिकाले मात्र तीज गीत गाउने’ भन्ने संस्कार थियो। त्योबेला सिर्जना थापा मगर, विमाकुमारी दुराहरु जस्ता केही कलाकारले फाट्टफुट्ट तीज गीत गाउँथे। तर, तीजका दिन उही ‘तीजको रहर आयो बरि लै’ गुञ्जिन्थ्यो।

हिजोआज विमाकुमारी दुराजस्ता लोकसंगीतका हस्तीहरुले तीज गीतमा खाशै चासो दिएका छैनन्। कारण त्यही हो, यहाँ अरु जति नै गाएपनि गुञ्जिने भनेको त्यही पुरानै हो। तर, पछिल्लो समय तीज गीतमा यस्तो ट्रेण्ड आयो कि ‘गीत नल्याए गायकरगायिका नै भइँदैन।’ अर्को एकथरीमा यस्तो फेसन आयो,‘अरुबेला नभएपनि तीजमा एउटा गीत गाएर चर्चामा आउँ।’

यस्तै ट्रेण्डले गायिका सुनिता दुलाललाई ‘तीज क्विन’ समेत बनायो। हरेक तीजमा सुनिताले तीज गीत ल्याउँदै आएकी छन्। तर, उनी अरु गीतहरु गाउन खाशै रुचाउँदिनन्। तीज गीतबाटै सेलिब्रेटी बनेकी सुनिता एक श्रेय हुन्, जसले तीज गीतमा ‘ट्रेण्ड’ भित्राइन्।

उनले यसपालीको तीजका लागि ‘चुरा टिका लाली’ बोलको गीत ल्याएकी छन्। तर, उक्त गीतले खाशै चर्चा पाएको छैन। आफ्नो तीज गीतले चर्चा पाओस् वा नपाओस्, त्यसमा उनलाई आवश्यकता पनि छैन किनकि, आखिर उनी ‘तीज क्वीन’ नै हुन्। सुनिताको तीज क्रेजले लोभिनेहरु यति भए, जसले यहाँ सयौँ गीत जन्माइरहेको छ।

‘तीज क्वीन’ र ‘तीज किङ’ बन्न मरिहत्ते गर्नेहरुको ‘ट्रेण्ड’ यतिसम्म अचाक्ली छ कि, यो वर्ष तीजका लागि कति गीत रिलिज भए ? अनुमानित उत्तर सुन्दा जो–कोही आचाश्र्य हुन्छ । हुन त अहिलेसम्म गीतसंगीतको नियमन गर्ने आधिकारिक निकाय छैन। त्यसैले गीतसंगीतसम्बन्धी अवार्ड गर्ने र म्युजिक अपडेट गर्ने अनलाइनकै आधारलाई अनुमानित रुपमा लिनुपर्ने हुन्छ।

कति आए तीज गीत ?

यो वर्ष कति तीज गीत रिलिज भए होला ? जवाफमा म्युजिक खबर डटकमका प्रधानसम्पादक तथा म्युजिक खबर अवार्डका अध्यक्ष सुमन बैरागीले भन्छन्, ‘पाँच हजार पुग्यो होला।’ यो अनुमानित संख्या सोमबार १२ बजेसम्मको हो। अहिले हरेक दिन १० देखि १५ वटासम्म तीज गीत यु–ट्युबमा अपलोड भइरहेका छन्।

कतिपय कलाकारले आफ्नै यु–ट्युब च्यानल बनाएर पनि अपलोड गरिरहेका छन्। त्यसको लेखाजोखा छैन। म्युजिक नेपाल, हाइलाइट्स नेपाल, सङ्स नेपाल, बुढासुब्बा जस्ता संगीतलाई व्यवसायी बनाउँदै आएका यु–ट्युब च्यानलमा अपलोड गरिएका र भइरहेका तीज गीतको अनुमानमात्र हो, पाँच हजार।

अझै संख्या बढ्न सक्छ किनकि, तीज आउन अझै तीन साता पुरै छ। अब कति तीजका गीत आउने अनुमान गर्न सकिन्छ ? अध्यक्ष बैरागीले भने, ‘राम्रो र स्तरिय गीत अब नै आउने हो। तीजको अघिल्लो दिनसम्म गीत रिलिज हुन्छन्। अहिले रिलिज भइरहेको तथ्यांकलाई आधार मान्ने हो भने अझै आउला दुई हजार जति।’ यी अनुमान गरिएअनुसार यो वर्षको तीजमा करिब ७ हजार तीज गीत बजारमा आउँदैछ ।

कसले सुन्ने यी गीत ?

गायक÷गायिकाले हरेक वर्ष तीजमा गीत निकाल्छन्। तर, तीजका दिन उनीहरु आफ्नो गीत सुन्दैनन्। तीज कार्यक्रमहरुमा उही पुरानै तीज गीतमा कम्मर मर्काउँछन्। ‘तीजको रहर आयो बरि लै’ गीतमै नाच्ने र रमाउने हो भने अरु तीज गीतमा कसले नाच्ने हो त ? यसपटक तीजका लागि ‘हर हर महादेव’ बोलको गीत ल्याएकी गायिका सहिमा भन्छिन्, ‘आफ्नो गीत स्टेज कार्यक्रम गाउनलाई हो, नाच्न त जुनै गीतमा नाचेपनि भइहाल्छ नि।’

स्टेजमा आफ्नो गीत गाउने अनि स्टेजबाट झरेर ‘तीजको रहर आयो बरि लै’मै रमाउने सबै कलाकारमा देखिन्छ, जसले हरेक वर्ष तीज गीत गाउँदै आएका छन्। उनीहरुले गाएका तीज मात्र एक दिनका लागि हो। एक दिनका लागि किन गाउनु हरेक वर्ष तीजलाई भनेर ? ‘यु–ट्युब च्यानलका लागि’ एक गायिकाले भनिन्, ‘यु–ट्युबमा अरुबेला सुन्दा र हेर्दा पनि हुन्छ।’

तीज गीतको लहर आउनुको एउटा कारण यु–ट्युब च्यानल पनि हो। तर, यु–ट्युबबाट चर्चा बटुल्ने सोचले पछिल्लो समय वर्षेनी तीज गीतमा करोडौं खर्च भइरहेको छ। तर, न ती कलाकार चर्चामा आएका छन्, न त तिनले यु–ट्युबबाटै लगानी उठाउन सकेका छन्। आफ्नै तीजका गीत नसुन्ने कलाकारको गीत अरु कसले सुनिदिएला त ? 

प्रतिक्रिया दिनुहोस्