जमिन प्लटिङका कारण अन्नबाली उत्पादनमा कमी आयो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन ।

बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल धान बालिका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताए । उनले नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्नहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई बिस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको बताएका छन । अध्यक्ष ओलीले सहकारीका माध्यमहरु अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए ।

उनले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताएका छन ।

उनले भने,‘धान बाली नेपालका लागि अत्यन्त उपयुक्त छ । यसलाई अझै केही गुणा वृद्धि गर्न सक्नुपर्छ । दोब्बरभन्दा बढी उत्पादन वृद्धि गर्नसक्छौँ । यसका निम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ । यसका निम्ति सहकारीका माध्यमहरु र अरु माध्यमहरुबाट अब हामीले खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ । त्यसो गरे हामी आत्मनिर्भर पनि हुन्छौँ, निर्यात पनि गर्न सकिन्छ । धान बालीमा हामीले जोड दिन जरुरी छ । यसको उत्पादन र उत्पादकत्व वृद्धि गर्न जरुरी छ । धान खेतीलाई बचाउन जरुरी छ । अहिले धेरै ठाउँमा अनावश्यक ढंगले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? भन्ने कुरा ध्यान पुगेको छैन । प्लटिङ सिस्टम आदि, इत्यादिले धान खेती वा अन्न बाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउनु पर्ने, कहाँ शहर बनाउनु पर्ने, कहाँ खेती लगाउने भन्ने कुराहरुमा गोलमाल भइरहेको छ । हामी बेठिक ढंगले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।’

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरु बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताएका छन । उनले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखदर भएको बताए । उनले लापरवाही र असावधानीका कारण यी गल्तीहरु भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन ।

उनले भने, ‘आज धान, चामल नै असाधारण ढंगले बाहिरबाट आयात गर्नुपरेको छ । हामी कृषिप्रधान देश र सबैभन्दा बढी धान फल्ने देश अन्नबालीहरु मध्ये धान धेरै फल्ने गर्छ । यस्तो देशमा हामी अशोभनीय ढंगले आयात गरेर जीविका चलाइरहेका छन् । यो कुरा त सुन्न पनि सुखद् छैन । गहुँमा पनि आयात नै गर्छौं । मकैपनि आयात नै गर्छौं । हामी कृषिप्रधान देशको खाद्यान्नको स्थिति आयातमा भर पर्नुपर्ने अवस्था छ । यो अत्यन्त दुःखद् कुरा हो । यो स्थितिको हामी अन्त्य गर्न सक्छौँ । यो स्थिति वास्तवमा हाम्रो लापरवाही, असावधानी र प्रयासहरुको कमीका कारण भएको हो । यी कुराहरु सच्याउने बित्तिकै हामीइ कृषिलाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने बाटोबाट र जमिनलाई खेर जाने नदिने र कृषि आधुनिकीतर्फ बढाउने, व्यवसायीकीकरण गरेर उत्पादकत्व वृद्धि गर्न सक्छौँ ।’

अध्यक्ष ओलीले असावधानी र लापरवाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीतर्फ बढाएर व्यवसायीकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्