आगामी तीन दिन भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन ।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने चेतावनी दिए ।

उनले भने, ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौं । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ। भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको छ।’

उनले खोलाको जलस्तर बढेर अझ डुबान र बाढीको समस्या निम्तिने बताए । मनसुन सुरु भएदेखि नै आफूहरुले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख एसएमएस गरिसकेको जानकारी दिए ।

विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्