किसानको समस्या समाधान गर्न मन्त्री यादवसँग युवा नेताको माग



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवसँग भेटवार्ता गरेका छन ।

‘मानो रोपेर मुरी फलाउने’ समयमा मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहका लागि उनी मन्त्री यादवसँग भेटेका हुन् ।

अहिले किसानले मल नपाएको स्थिति छ । यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ । यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ,’ उनले भने ।

उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएको बताए । ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ । किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ । किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन ।’

उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिबद्धता सरकारबाट दिलाउन खोजेको बताए। जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारणबारे जानकारी दिएको पौडेलले बताएका छन ।

‘पहिलो त अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। जसले टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो । दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उदृत गर्दै उनले भने,‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्‍यौं त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन । यी आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उनले भने ।’

प्रतिक्रिया दिनुहोस्