रोपाईंमा रमाए भक्तपुरका विद्यार्थी



भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलका विद्यार्थी रोपाईमा रमाएका हुन् ।

असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाई कार्यक्रम गरेको थियो । स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाईका लागि लगिएको थियो । रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरु पनि रमाइलो मानी काममा मस्त देखिए । सधै कक्षा कोठामा व्यस्त देखिने स्कुलका शिक्षकशिक्षिकाहरु प्रिन्सिपलसहित मस्त देखिए ।

स्कुलले कक्षा चारमा अध्ययरत एक सय १५ जना ससाना नानीहरुलाई रोपाईका लागि नजिकैको खेतमा लगेको थियो । ससाना विद्यार्थीहरुले खेतमा पुगेर रोपाई गरेका थिए । यसअघि उनीहरुले त्यहाँ रोपाईका लागि बाउसे गरेको प्रत्यक्ष अवलोकन गरेका थिए । साथै बाउसे गरेपछि देखिएका घाँंसहरुलाई दवाउन उनीहरुले कुल्चने काम गरेका थिए । त्यसपछि उनीहरुले रोपाई थालेका थिए ।

यो सवै कामका लागि उनीहरुलाई शिक्षकशिक्षिकाहरुले सिकाएका थिए । शिक्षकशिक्षिकाहरुले उनीहरुलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरुकाबारेमा जानकारी गराएका थिए । यसअघि उनीहरुलाई मंगलबार नै कक्षाकोठामा यसबारे जानकारी दिनुका साथै प्रशिक्षण दिइएको थियो ।

स्कुको कक्षा ४ मा अध्ययनरत छात्रा सिवानी विष्टले पहिलो पटक आफूले यस्तो काम गर्न पाएको भन्दै खुशी साटिन् । उनले भनिन्, सधै कक्षामा हुन्थ्यौ तर आज चाहिं यसरी आउन पाएकोमा औधी रमाइलो लागिरहेको छ । अर्की छात्रा सिका उप्रेतीले अरु दिन भन्दा रोपाईमा आफूलाई मज्जा लागेको बताइन् ।

रोपाई कार्यक्रमकी संयोजक कविता पौडेलले धेरैजना विद्यार्थी भएकाले समूहसमूहमा ल्याई नानीहरुलाई सिकाइएको बताइन् । उनले प्रत्येक वर्ष स्कुलले कक्षा चारका विद्यार्थीलाई धानको विउ राख्नेदेखि धान काटेर चुट्नेसम्म सिकाउने गरेको जानकारी गराइन् ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको जनाए ।

पुस्तकमा मात्रै सिमित नगखी विद्यार्थीई यस्ता विविध विषयका क्रियाकलापहरु स्कुलले गराउने गरेको जानकारी उनले दिए । यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरुमा व्यवहारिक ज्ञान पनि हुने विश्वास उनको छ । यसरी नानीहरूले रोपेको धान उत्पादनपछि भिक्षु भन्तेहरूलाई भोजन दानको लागि प्रदान गरिने उनले जनाए । रोपाईका साथै ससाना नानीहरुदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई दही चिउरा खाने पर्वकाबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्