पुनः शक्ति आर्जनको ‘प्रचण्ड’ प्रतीक्षा



काठमाडौं । देशको राजनीतिक शक्ति केन्द्रमा रहन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घर्षरत् छन् । करिब १० वर्षअघि उनी शक्तिको केन्द्रमा थिए। तर, २०७० सालमा भएको दोस्रो संविधानसभा र २०७४ सालमा भएको ३ तहको निर्वाचनले उनको शक्तिमा ह्रास ल्याइदियो।

त्यसयता प्रचण्ड शक्तिको केन्द्रविन्दुमा रहन कडा सङ्घर्ष गरिहेका छन्, जसका लागि निर्वाचनमा माओवादीलाई प्रचण्डले कहिले नेकपा एमाले त कहिले नेपाली कांग्रेसको सहयात्री दल बनाउने गरेका छन् । यहीबीच ३० वैशाखमा भएको स्थानीय निर्वाचन परिणामले भने पहिलेको शक्ति फर्काउन सकिने आशा प्रचण्डमा जगाएको देखिएको छ। कारण– एकातिर माओवादीले २०७४ सालमा भन्दा बढी १६ स्थानीय तह जित्यो। अर्कातिर माओवादी विचारधारामा रहेका उनका युद्धकालीन सहयोद्धाहरू धमाधम पार्टीमा फर्किरहेका छन्।

फर्किनेमा मूल नेताभन्दा पनि दोस्रोदेखि तेस्रो तहका नेताहरू छन्। मूल नेताहरू पनि फर्किएको अवस्थामा पहिलेको शक्ति फिर्ता लिन सकिने प्रचण्डमा आत्मविश्वास देखिएको छ। उनले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वमाओवादी नेताहरूलाई पार्टी प्रवेश गराउँदै यस्तै सन्देश प्रवाह हुने अभिव्यक्ति दिए। ‘एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई अहिले पनि पूरै विश्वास छ कि यो देशको अत्यधिक ठूलो जनताले हामीलाई साथ दिनेछ र हामी विजयी हुनेछौँ’, प्रचण्डको भनाइ छ।

प्रचण्ड नेतृत्वको माओवादीबाट उनका राजनीतिक गुरु मोहन वैद्य ‘किरण’ २०६९ सालदेखि अलग छन्। नेपाली सेनामा जनमुक्ति सेनालाई समायोजन गर्नेदेखि जनमुक्ति सेनाको हतियार ‘क्यान्टोनमेन्ट’मा बुझाउनेलगायतका कदमप्रति पार्टीमा असन्तुष्टि चुलिँदै जाँदा ‘किरण’सहित अलग भएका थिए । किरणसँगै गएकामध्येका एक नेता शीर्ष तहका नेता रामबहादुर थापा ‘बादल’ माओवादीमा फर्किएर अहिले एमालेमा पुगिसकेका छन्। देवप्रसाद गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेललगायत नेताहरू भने माओवादीमै छन्।

किरणसँग सीपी गजुरेल, परी थापालगायत नेताहरू छन्। नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेता नेकपामा रहँदा धर्मेन्द्र बाँस्तोला ‘कंचन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ भने नेकपा (बहुमत)मा छन्। गोपाल किराती ‘साइँला’, विश्वभक्त दुलाल ‘आहुति’लगायत पनि प्रचण्ड नेतृत्वको माओवादीबाट अलग छन् । ३ असोज २०७२ मा संविधान जारी भएपछि पार्टी नेतृत्वको आकाङ्क्षी बनेका नेता डा. बाबुराम भट्टराई भने नयाँ शक्ति, समाजवादी पार्टी नेपाल हुँदै हाल जनता समाजवादी पार्टीमा छन् । प्रचण्डले यही असार पहिलो साता भट्टराईसँग भेट गरेका छन्।

उनले पूर्वमाओवादी नेताहरूलाई माओवादीमा फर्काउनका लागि सम्वाद तीब्र पार्न भने प्रवक्ता कृष्णबहादुर महरालाई जिम्मेवारी दिएका छन् । उनीहरू माओवादीमा फर्किए करिब १० वर्ष पहिलेको शक्ति प्राप्त गर्न सकिने र देशलाई समाजवादी क्रान्तिको यात्रामा अघि बढाउन सकिने प्रचण्डले विश्वास व्यक्त गरेका छन्। उनकै शब्दमा एकचोटि आत्मसमीक्षा गर्दै माओवादीहरू देशको राष्ट्रिय एकता र स्वाधीनताको निम्ति, समाजवादको आधार तयार गर्नको निम्ति तथा विकास र समृद्धिको नयाँ यात्राको दायित्व पूरा गर्नका निम्ति एक ठाउँमा आउनुपर्छ। तर, प्रचण्डले ३ जेठ २०७५ मा एमालेसँग एकता गरेपछि असन्तुष्ट हुँदै अलग भएका नेता गोपाल किरातीले अहिलेकै अवस्थामा माओवादीमा फर्किन नसकिने स्पष्ट पारे।

उनले द नेपालटपसँग सङ्क्षिप्त कुरा गर्दै प्रचण्डलाई प्रश्न गरेका छन्, ‘एकता क्रान्तिका लागि कि केवल आउने निर्वाचनका लागि ? क्रान्तिका लागि हो भने क्रान्तिकारी राजनीति र चरित्र हुनुपर्‍यो । निर्वाचनका लागि मात्र हो भने संसद्वादीहरू नै काफी छन् । हामी संसद्वादी होइनौँ ।’ किरातीले माओवादी फर्किने बाटो ‘ब्लक’ भने अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गराउन प्रचण्डले निर्वाह गरेको भूमिका भएको बताए । ‘प्रचण्ड सुध्रिने अपेक्षा थियो । मिलेर अघि बढ्न सकिन्छ भन्ने लागेको थियो। कृष्णबहादुर महराजीसँग घनीभूत सम्वाद भइरहेको थियो । त्यहीबेला एमसीसी पास गर्न प्रचण्ड अघि बढे । त्यसपछि त कुरै भएको छैन’, किरातीले भने। ‘किरण’ नेतृत्वको नेकपा माओवादी–क्रान्तिकारीका नेता परी थापाले पनि प्रचण्ड नसुध्रिएसम्म पूर्वमाओवादीहरू एकता हुनै नसक्ने बताएका छन्।

तर, किरण, विप्लवसहितका पार्टीहरूबाट नेताहरू माओवादी फर्किने क्रम भने स्थानीय तह निर्वाचनअघिदेखि सुरु भएको छ। बुधबार विप्लवबाट अलग भएर ओम पुनलगायत ४ जना नेता माओवादीमा फर्किए। प्रचण्डले उनीहरूलाई ‘मूल घरमा फेरि स्वागत छ’ भनेका छन् । पार्टी शान्ति प्रक्रियामा आएपछि ४ वटा कमजोरी भएको पनि उनको ठम्याइ छ, जसका कारण माओवादी कमजोर भएको उनको विश्लेषण छ। १३ पुस २०७८ मा पार्टीको आठौँ महाधिवेशनमा उनले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा ती कमजोरीहरू उल्लेख छन्।

उनका अनुसार पहिलो कमजोरी हो–शान्ति सम्झौतामा हस्ताक्षरपछि जनमुक्ति सेनाको समायोजन गर्ने र हतियार क्यान्टोनमेन्टमा राख्ने निर्णयपछि पार्टीमा नेतृत्वप्रति अविश्वास र आशङ्का पैदा हुँदा पार्टीलाई कहाँ र कसरी लैजाने भन्ने स्पष्ट मार्गचित्र भएन । दोस्रो कमजोरी– शान्ति प्रक्रियामा आएपछि पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक एकताको गाँठो खुकुलो बन्यो । तेस्रो कमजोरी– विद्रोह र संविधान निर्माणको कुरा एकैचोटि उठाउँदा विचारधारात्मक राजनीतिक अन्योल भयो । चौँथो कमजोरी–‘प्रचण्डपथ’को विसर्जन । यी कमजोरीहरू र पार्टीमा विभाजन आउनुले माओवादी २०७० सालपछि क्रमशः कमजोर भएको प्रचण्डको निष्कर्ष छ।

उनी गत ३० वैशाखमा स्थानीय तह निर्वाचन हुनुअघि भने हरेक निर्वाचन केन्द्रित सभाहरूलाई सम्बोधन गर्ने क्रममा निराशाजनक अभिव्यक्ति दिन्थे। यतिसम्म कि उनले कोही माओवादी नेता, कार्यकर्ता नसुध्रिने हो भने ‘पार्टी विघटन गरौँ’सम्म भनेका थिए । तर, स्थानीय तह निर्वाचनको परिणामले प्रचण्डको अभिव्यक्ति निराशा भन्दा पनि आशामा परिणत भएको छ। उनले आगामी सङ्घीय र प्रदेश संसद् निर्वाचनबाट पार्टीलाई कम्तीमा दोस्रो दल बनाउन चाहेका छन्। हाल तेस्रो दलको हैसियतमा छ । यद्यपि, उनले राष्ट्रिय राजनीतिमा माओवादीलाई निर्णायक राष्ट्रिय शक्ति भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्