धान-चामलमा झन्‌झन् कमजोर : उहिले निर्यात, अहिले वर्षमै ५० अर्बको आयात



काठमाडौं । कुनै समय नेपालले विदेशमा धान निर्यात गथ्र्यो भन्दा धेरैलाई कथा जस्तो लाग्न सक्छ। अहिले वार्षिक ५० अर्ब रुपैयाँको चामल आयात गर्नुपरेको छ भन्ने सुन्दा त झन् कसरी पत्याउनु ? दुःख लाग्दो कुरा त यो छ कि कृषिप्रधान देश भनेर आफूलाई दाबी गरिरहेको नेपालले धानको बिउसमेत आयात गरिरहेको छ।

बिउ–बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा धानको बिउ मात्र १ अर्ब १७ करोड ११ लाख २ हजार ६८८ रुपैयाँको आयात भएको छ।विश्वास नलाग्न सक्छ– सन् १९६५ मा भारतमा धान निर्यात गर्ने नेपाल विश्वको पाँचौँ देशमध्ये एक थियो । नेपालले भारतमा ३ लाख ८४ हजार टन धान निर्यात गरी विश्वको पाँचौँ स्थानमा पुगेको २०२५ सालमा प्रकाशित ‘वसुधा’ नामक पत्रिकामा फेड्रिक गेजले लेखेका छन्। उक्त पत्रिकामा ‘नेपालको आर्थिक विकासमा तराईको भूमिका’ शीर्षक लेखमा सो कुरा उल्लेख छ।

सन् २०३५ सालतिर नेपालले धनगढीमा सेती–महाकाली धान–चामल निर्यात कम्पनीसमेत स्थापना गरेको थियो। आर्थिक वर्ष २०३६/०३७ को बजेटमा समेत सरकारी कम्पनीले निर्यात गर्ने धान चामलको एकाधिकारलाई समाप्त गरी निजी कम्पनीहरूलाई समेत निर्यात गर्ने अधिकार दिएको पाइन्छ । कृषि विकास निर्देशनालयका अनुसार सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धान–चामल आयात गरेको समयमा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो।

यसको त्यसबेलाको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो। यसैगरी सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो। सन् १९९४/९५ मा नेपालले निर्यात गर्दा भारतले धान आयात गर्ने गथ्र्याे । ‘अहिले भारत विश्वकै पहिलो धान निर्यात गर्ने देश बनेको छ। सन् १९९४/९५ मा नेपाल, भारत र भियतनामको प्रतिहेक्टर क्षेत्रफलमा उत्पादन गर्ने उत्पादकत्व बराबर नै थियो । त्यस समयमा नेपालको प्रतिहेक्टर उत्पादकत्व अढाई टन थियो भने भारत, बंगलादेशको पनि प्रतिहेक्टटर उत्पादकत्व अढाई टन नै थियो’, कृषिविद् डा. राजेन्द्र उप्रेतीले भने। अहिले भियतनामले ७ टन, भारत र बंगलादेशले ५ टनभन्दा बढी उत्पादन गर्ने गरेका तर नेपालले भने ३ टनभन्दा बढी उत्पादन गर्न नसकेको उनको भनाइ छ।

कुनै समय भारतमा धान निर्यात गर्ने विश्वको पाँचौँ स्थानमा पुगेको देश नेपालले अहिले वार्षिक ५० अर्ब रुपैयाँको चामल आयात गर्नुपर्ने मुख्य कारण कृषियोग्य जमिन घट्दै जानु, मानिसको खाने बानीमा परिवर्तन आउनु भएको डा. उप्रेतीको ठम्याइ छ। राज्यले समेत कृषि क्षेत्रलाई प्राथामिकतामा नराख्दा चामल आयात बढ्दै गएको उनले बताए। नेपाल सरकारले धान उत्पादन गर्न खासै ठूलो पहल नै नगरेको उनको आरोप छ। उत्पादन बढाउन मल, सिँचाइको राम्रो प्रबन्ध हुनुपर्छ तर सरकारले कृषकलाई मल र सिँचाइ नै उपलब्ध गराउन नसक्दा उत्पादन बढाउन नसकेको उनको भनाइ छ।

कृषिविद् उप्रेतीका अनुसार भारतले धान उत्पादन बढाएर विश्वको पहिलो निर्यातकर्ता देश बन्नुको मुख्य कारण कृषकलाई मल अनुदान र सिँचाइको राम्रो व्यवस्था नै हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ अधिकृत रामकृष्ण रेग्मी भन्छन्, ‘विगतमा नेपालले धान निर्यात गथ्र्याे भन्ने विषय नेपाललाई बढी भएर भन्दा पनि पूर्वाधारको विकास निर्यात भएको हो।’ तराईमा उत्पादन गरेको धान पहाडी क्षेत्रमा पुर्‍याउने मार्ग नहुँदा नेपालले धान–चामल निर्यात गर्ने सरकारी कम्पनी खोली निर्यात गरेको वरिष्ठ तथ्याङ्क अधिकृत रेग्मीको भनाइ छ।

पछिल्लो समय चामलको आयात बढ्नुको मुख्य कारण खेतीयोग्य जमिन घट्दै जानु र खाने बानीमा मानिसहरूमा परिवर्तन आउनु नै रहेको उनले बताए । उनले गत वर्ष ५० अर्ब रुपैयाँको चालम आयात भएकामा चालू आर्थिक वर्षका ११ महिनामा ४५ अर्ब रुपैयाँको चामल आयात भइसकेको बताए। नेपालको कुल क्षेत्रफलको ४७ दशमलब ७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । कृषि विभागका अनुसार नेपालमा तराईको ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार ५० मिटर उचाइसम्म धानको खेती हुने गरेको छ ।

कृषि विभागका अनुसार नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान)को खेती हुन्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलब ७ प्रतिशत जमिनमा धान खेती हुन्छ। त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब ४५ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा ५० प्रतिशतभन्दा बढी धानको हिस्सा रहेको छ। नेपालमा वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उपउत्पादनहरू प्राप्त हुने गर्छन्।

देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत अंश कृषिको रहेकामा धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान छ। आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल ० दशमलब २६ प्रतिशतले वृद्धि भए तापनि उत्पादन भने ८ दशमलब ७४ प्रतिशतले घटेको छ।

यसरी क्षेत्रफल बढे तापनि उत्पादन घट्नुमा ३१ असोज २०७८ देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाले धान थन्क्याउने बेलामा खासगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कंचनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा पारेको क्षति मुख्य कारण रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्