क्यान्सर के हो, कसरी बच्ने ?



काठमाडौं : वास्तवमा क्यान्सर खराब जीवनशैलीले निम्त्याउने रोग हो। यो वंशानुगत रूपमा पनि आउन सक्छ। यद्यपि शरीरलाई क्यान्सर प्रतिरोधी बनाइयो भने, त्यसले केहि गर्न सक्दैन। भनौं, स्वास्थ्य जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार हो।

अहिले बाह्य वातावरण पनि क्यान्सरको कारण बनेको छ। धुलो, धुवाँ, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ।

के हो क्यान्सर ? 

क्यान्सर एउटा दीर्घ रोग हो। जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिँदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ।  अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ। नेपालमा हरेक वर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन्।

हाम्रो शरीर करोडौँ सूक्ष्म कोसहरूले बनेको हुन्छ। ती कोषहरूले हाम्रो शरीर बनाउँछन्। जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन्। त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन्।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अङ्गहरूमा सर्दै जान्छन् र अरू अङ्गहरूलाई पनि असर गर्दै जान्छ । यसलाई फैलिएको क्यान्सर भनिन्छ।

किन लाग्छ क्यान्सर ?

क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो। यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन्। साथै बाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ। जस्तो कि, वातावरणीय प्रदूषण। धुलो–ध्रूँवा, रसायन, विकिरिण आदि क्यान्सरको कारण बन्छ। अर्कोचाहिँ, वंशानुगत। तर, यस्तो जोखिम १० प्रतिशतमा मात्र हुने बताइन्छ।

यी हुन् क्यान्सरका कारण

१. चुरोट, खैनी, सुर्ती आदिको सेवनले क्यान्सर निम्त्याउँछ। यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ।

२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ। खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ।

३. हामीले खानेकुरा सबै स्वस्थ्यकर हुँदैनन्। ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन्। बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ। यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ।

४. वातावरणीय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ।

५. घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

  • कमजोरी हुने र तौल घट्ने 
  • शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने
  • छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने 
  • मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
  • खाना निल्दा दुख्ने र स्वर फेरिने
  • सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
  • लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने 
  • कारण पत्ता नलागेको ज्वरो आइरहने
  • दिसामा रगत देखिने हुन्छ ।

कसरी बच्ने त ?

क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वास्थ्य जीवनशैली। नियमित दिनचर्यामा आफूलाई अभ्यस्त गराउने । स्वास्थ्य र खुसी जीवन बाँच्ने। ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने। योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने।

शारीरिक रूपमा सक्रिय रहने। दिनहुँ पसिना बगाउने। युनिभर्सिटी अफ वरमान्टमा भएको अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ। साथै कोलेरेक्टर क्यान्सर ९अन्द्राको क्यान्सर० हुने खतरा ३८ प्रतिशत बढी हुन्छ।

कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ। यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन। तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा नखाने।

एन्टिअक्सिीडेन्ट गुणहरूबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने। जस्तो कि, ग्रीन टी। यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ। यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन। त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मुख्य मानिन्छ।

सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र। ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरू पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन्। यी किरणहरूको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्