बाराको धर्मशाला उद्घाटनमा विवाद : विरोध गर्ने वडाअध्यक्षसहित ७ पक्राउ



सिमरा : बाराको परवानीपुर ५ स्थित बहुअरीमा निर्माण भएको रामजानकी धर्मशालाको उद्घाटनका क्रममा विवाद हुँदा प्रहरीले वडाअध्यक्षसहित सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीलाई ७ जनालाई नियन्त्रणमा लिएको हो।

धर्मशाला निर्माणका क्रममा अनियमितता भएको भन्दै परवानीपुर गाउँपालिका ५ का वडा अध्यक्ष रामेश्वरप्रसाद कलवार सहितका केहि स्थानीयले उद्घाटनको विरोधमा नारा जुलुस गरेका थिए। धर्मशालाको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गर्ने कार्यक्रम थियो।

वडाअध्यक्षसहितका केही स्थानीयले गाउँपालिका अध्यक्ष हरिनारायण गुप्ताविरुद्ध नारा लगाउँदै उद्घाटन कार्यक्रम रोक्न माग राखेका थिए। मन्त्री सहभागी कार्यक्रममा विरोध जनाइएपछि प्रहरीले वडाअध्यक्ष कलवार, स्थानीय विवेक गुप्ता, रुपेश गुप्ता, हरिशंकर गुप्तासहित सात जनालाई नियन्त्रणमा लिएको हो।

गाउँपालिकाको ६२ लाखको रकमबाट निर्माण भएको धर्मशालामा अनियमितता भएको वडाअध्यक्षसहितको आरोप छ।

प्रतिक्रिया दिनुहोस्