प्रदेशसभा र स्थानीय तहका ३२ जनप्रतिनिधिको पद रिक्त



काठमाडौं : प्रदेश र स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौज्दारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । 

भक्तपुर प्रदेशसभा सदस्य हरिशरण लामिछाने, धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्षको निधनपछि प्रदेशसभा सदस्य, नगरप्रमुख र गाउँपालिका अध्यक्षको एक÷एक पद रिक्त हुन पुगेको हो । 

स्थानीय तहको निर्वाचनपछि मुलुकका विभिन्न नगरपालिका र गाउँपालिकासमेत गरी हालसम्म १३ वडाध्यक्षको मृत्यु भएको छ । 

महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा, नुवाकोट दुप्चेश्वर नगरपालिका–१ का वडाध्यक्ष मानव बेचबिखन मुद्दामा कारागार परेका कारण तथा प्यूठान ऐरावती गाउँपालिका–२ का वडाध्यक्ष र कञ्चनपुर पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचितपछि ती वडाध्यक्ष नेतृत्वविहीन भएका हुन् । 

सोलुखुम्बु सोलु–दूधकुण्ड नगरपालिका–११ मा भने निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण उक्त वडाबाट जनप्रतिनिधिको चयन हुन सकेको थिएन । यो अवधिमा विभिन्न कारणबाट स्थानीय तहमा एक महिलासहित सात सदस्य पद रिक्त भएको निर्वाचन आयोगले जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्