शित भण्डार निर्माण भुक्तानीको माग गर्दै कृषि मन्त्रालयमा ताला



जनकपुरधाम । शित भण्डार निर्माणको भूक्तानीको माग गर्दै किसानहरुले मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दुई वटा शाखामा तालावन्दी गरेको छ । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानहरुले मन्त्रालयको लेखा शाखा तथा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।

विभिन्न ५ वटा माग राखेर किसानहरु आन्दोलनमा उतरिएका हुन् । शीतभण्डार निर्माणमा लागेको खर्चको भुक्तानी अबिलम्ब गर्नुपर्ने, किसानलाई समयमै पर्याप्त मलखाद्य उपलब्ध गराउनु पर्ने, बीउ बिजन उपलब्ध गराउनु पर्ने, प्रदेशको कृषि मन्त्रालय अन्तर्गत सञ्चालन हुने अनुदान, सेवासुविधा र विभिन्न योजनामा एकरूपता कायम गरी किसानको हकहित सुनिश्चित गर्नुपर्ने, शीतभण्डारको बाँकी कार्य अगाडी बढाउनु पर्ने किसानहरुको माग छ । त्यस्तै, कृषि उपजमा प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिमा सहयोग उपलब्ध गराउन समेत किसानहरुले सरकारसंग माग गरेका छन् ।

पटक पटक भुक्तानीका लागि निवेदन दिंदा पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उतरिनु परेको किसान शेषनारायण यादवले बताए । शित भण्डार निर्माण कार्यको ३ वर्ष हुनै लाग्दा समेत मन्त्रालयले भुक्तानि नदिँदा आफू लगायतका किसानहरु मारमा परेको उनको भनाई छ । यादव जसपाको मधेश प्रदेशका उपाध्यक्ष समेत हुन् ।

शीतभण्डार निर्माणमा अनियमितता भएको भन्दै आलोचना हुन थालेपछि मन्त्रालयले रकम निकासा रोकेको थियो । मन्त्रालयले रकम दिन आनाकानी गरेपछि किसानहरु अदालतसम्म पुगेका थिए । शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ । कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले रकम भुक्तानी नियम कानून पुर्याएर हुने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन् ‘किसानहरुले हतार गरेर हुँदैन, हामी नियम कानून अनुसार नै भुक्तानी गर्ने हो, प्रकृया अगाडी बढिरहेको छ ।’

मधेश प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहहरु सम्झौता अनुसार नै शीतभण्डार निर्माण कार्य शुरु समेत गरि सकेका छन् । तर सम्झौता अनुसार अहिलेसम्म भुक्तानी हुन नसक्दा शितभण्डार निर्माण कार्यको अगाडीको प्रकृया रोकिएको छ । भुक्तानी नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने किसानहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्